प्रधानमन्त्री ओली डिस्चार्ज

प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं मंसिर १९: प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज भएका छन्। मंसिर १० गते पेट दुख्ने समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको देखिएपछि शल्यक्रिया भएको थियो। 

शल्यक्रियापछि १० दिन अस्पतालमा आराम गरेर प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन्।   त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेको हो।  लामो अस्पताल बसाईंबाट बालुवाटार फर्किदै प्रधानमन्त्री ओलीले आफू स्वास्थ्य भएको बताएका छन् ।   

मिर्गौला समस्याले नियमित डायलासिस 
मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ। उनको पाँचौ पटक डायलसिस मंसिर १२ गते भएको थियो। 

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्। 

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकित्सकको भनाइ छ। नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सक निर्णयमा पुग्न सकेका छैनन्। 

प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो। मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ।  

प्रतिक्रिया