३५ वर्षपछि घरमै स्वर्ण जित्न आतुर नेपाली फुटबलर

३५ वर्षपछि घरमै स्वर्ण जित्न आतुर नेपाली फुटबलर

फाईल तस्विर

काठमाडौँ । नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद सागको ऐतिहासिक पहिलो संस्करणमा घरेलु टोलीलाई स्वर्ण जिताएको तीन खेलमध्ये पुरुष फुटबल पनि थियो ।

सिनियर राष्ट्रिय टोलीले प्रतिस्पर्धा गरेको त्यस संस्करणमा नेपाल दक्षिण एसियामै बलियो देखियो। नेपालले माथिल्लोस्तरको फुटबल खेल्यो। त्यसपछि लामो समय नेपाली फुटबलरले दक्षिण एसियाका विभिन्न देश पुगेर घरेलु लिग खेले। नेपाली खेलाडीको माग नै बढी हुन्थ्यो। १५ वर्षपछि नेपालले पुन साग भयो, सन् १९९९ मा ।

यसपटक पनि नेपाल फाइनल पुगेको थियो। तर फाइनलमा बंगलादेशसँग पराजित भएपछि घरेलु मैदानमा स्वर्ण जितेको इतिहास कायम राख्न नेपाली फुटबल सफल भएन। सागमा इतिहासकै सर्वाधिक ३१ स्वर्ण जितेको त्यस क्षणमा फुटबल चुक्नुले केही खल्लो बनायो।

त्यसपछिका वर्षहरुमा नेपाली खेलाडीहरु दक्षिण एसियाका घरेलु लिग खेल्ने क्रम कम हुँदै गयो। पछिल्ला वर्षहरुमा छँदै छैन भनेपनि हुन्छ। तर पछिल्ला केही वर्षले नेपाली फुटबलमा केही राम्रो संकेत गरेको छ। सन् २०१६ मा लगातार तीन वटा प्रतियोगिता बंगबन्धु गोल्डकप, साग फुटबल र सोलिडारिटी कप जितेर नेपालले आफ्नो फुटबल ब्युँतिएको संकेत गर्यो।

बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकपले नेपाली फुटबलको २३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल उपाधि खडेरी तोडेको थियो। त्यसपछि त्यही अवधीको अन्तरमा साग फुटबलको उपाधि जितेको थियो। किनभने त्यसअघि नेपालले सिनियर अन्तर्राष्ट्रिय उपाधिका रुपमा अन्तिमपटक सन् १९९३ को साग फुटबल जितेको थियो।

भारतमा आयोजित १२ औ सागको फुटबलतर्फ फाइनलमा इतिहासकै सर्वाधिक सफल भारतलाई नै हराएर उपाधि जित्नु नेपालका लागि सामान्य सफलता र गौरवको विषय थिएन।

२० वर्षपछि फेरी साग नेपालमा फर्कियो यसपटक। धेरैलाई नेपाललाई ‘होम अफ साग’ पनि भन्ने गर्दछन्। भारतले सहभागिता नजनाउने भएपछि प्रतियोगिताको सुरुवातमै नेपाललाई फुटबलको स्वर्ण दाबेदार मानिएको थियो। अन्तत नेपाल पाँच टोली रहेको राउन्ड रोबिन लिगमा तीन जित र एक बराबरीको नतिजा निकाल्दै फाइनल पुगेको छ।

नेपालले खेलेका राउन्ड रोबिन लिगका अन्तिम दुई खेलमा रंगशालामा १५ हजारभन्दा बढी दर्शक उपस्थित थिए। ०७२ सालको प्रलयकारी भुकम्पपछि यसै सागमार्फत सन्चालनमा आएको दशरथ रंगशालामा स्वर्ण जित्नु नेपाली टोलीका लागि अर्को अविस्मरणीय क्षण हुने छ।

जारी सागमा नेपालले ऐतिहासिक ४९ स्वर्ण जितिसकेको छ। धेरै खेलमा ऐतिहासिक सफलता हात पारेको छ। यस्तो अवस्थामा नेपाली फुटबल २० वर्ष पुरानो गल्ती नदोहोर्याउने प्रयाश गर्ने छ। नेपालले केहीबेरमा भुटानसँग स्वर्णका लागि खेल्दै छ।

खेल सुरु हुनुभन्दा केही घन्टा अघि नै सबै टिकट विक्री भइसकेको टिकट विक्रीको जिम्मा लिएको इसेवाले जनाएको छ। टिकट नपाएर हजारौँ दर्शक रंगशालाको गेटबाहिर थकथकाइरहेका छन्। राउन्ड रोबिनको खेलमा नेपालसँग ४-० गोलले पराजित भएपनि अन्य सबै तीन खेल जितेको भुटान नेपालसामु कमजोर प्रतिद्धन्द्धी हुने छैन। पहिलोपटक साग फुटबलमा फाइनल पुगेको भुटानले गुमाउनु केही छैन। तर १५ हजारभन्दा बढी घरेलु दर्शक अघि स्वर्णको अपेक्षा पुरा गर्न नेपाललाई दबाब पर्ने छ।

प्रतिक्रिया