साग फुटबल फाइनल : पहिलो हाफमा नेपाल र भुटानको १-१ बराबरी

साग फुटबल फाइनल : पहिलो हाफमा नेपाल र भुटानको १-१ बराबरी

काठमाडौं मंसिर २४ : १३औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको फाइनल फाइनलको पहिलो हाफमा नेपाल र भुटानले १-१ बराबरी खेलेका छन्। नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको हो। 

१७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका हुन्। 

आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो। नेपालले लिग चरणको खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो। फाइनलमा भुटानले पहिलो हाफमा बरारबी गोल गरेपछि नेपालमाथि घरेलु मैदानमा स्वर्ण जित्ने प्रेसर बढेको छ।

नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको हो। राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलको शीर्ष स्थानमा रहेका नेपालले चार खेलबाट १० अंक बनाएको छ। नेपालले तीन जित र एक बराबरी नतिजा निकालेको थियो। तीन जित र एक हार खेपेको भुटान उपविजेता हो। भुटानले नौ अंक बनाएको छ। नेपाल साग फुटबलको साबिक विजेता हो। भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया