साग विजेतालाई प्रधानमन्‍त्रीको ‘सरप्राइज’ : दुई स्वर्णलाई ११ लाख, कसलाई कति ?

साग विजेतालाई प्रधानमन्‍त्रीको ‘सरप्राइज’ : दुई स्वर्णलाई ११ लाख, कसलाई कति ?

काठमाडौं मंसिर २५ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा विजयी खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले ‘सरप्राइज’ रकमको घोषणा गरेका छन्।  बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गरेका हुन्। 

ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन्। अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो। 

नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो। मंगलबार साँझ दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच १३औँ साग समापन भयो। समापन समारोहमा भिडियो सन्देश पठाएका प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर विजेता खेलाडीलाई बधाईसँगै विशेष रकमको घोषणा गरेका हुन्। नेपालले ५१ स्वर्ण पदक जित्दै प्रतियोगिता सम्पन्न भएको हो। नेपालले कुल पदक भने २०६ वटा जितेको छ। 

सागमा भारतले १७४ वटा स्वर्ण पदक जित्यो। त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन्। एउटा मात्र स्वर्ण जित्ने सम्भावनासहित पुरुष फुटबलको फाइनलमा नेपालसँग भिडेको भुटान उपविजेतामा सीमित भयो। नेपालले फुटबलमासमेत स्वर्ण जितेर आफ्नै भूमिमा इतिहास रचेको छ।  

प्रतिक्रिया