जुम्लाका २६ गाउँ ‘छाउगोठ मुक्त’

जुम्लाका २६ गाउँ ‘छाउगोठ मुक्त’

जुम्ला मंसिर २५ । सामाजिक विकृतिको रुपमा गडिएको छुई प्रथा न्यूनीकरण गर्ने अभियान अहिले धमाधम भइरहेको छ । अहिले स्थानीय तह र सामाजिक संघ संस्थाको अभियानमा जुम्लाका २६ गाउँबस्ती छुईगोठ मुक्त घोषणा गरिएका छन् ।

महिनावारीको समयमा भिन्नै गोठमा बस्ने चलन अब भने धमाधम मानसिक रुपमै भत्किन थालेका छन् । धमाधम छुईगोठ मुक्त अभियान चलिरहेको समयमा पछिल्लो समयमा यहाँका २६ गाउँलाई स्थानीय सरकार र साझेदार गैरसरकारी संस्थाको समन्वयनमा छुईगोठ मुक्त घोषणा गर्दै अभियान तीब्र पारिएको छ ।

पछिल्लो समयमा तिला गाउँपालिका वडा नं. ३ दानीवाडा र कठायतवाडा गाउँ र पातारासी गाउँपालिकाको वडा नं ४ लुम र भोडगाउँ छुईगोठमुक्त गाउँ घोषणा गरिएका छन् । तिला गाउँपालिकाकाले आयोजना गरेको छुईगोठमुक्त गाउँ कार्यक्रममा तिलाका दानीवाडा कठायतवाडाका १७२ घरधुरीका ८६० र पातारासी ४ लुमगाउँपालिका लुमगाउँको ३७४ घरधुरीका एक हजार ८७० स्थानीयवासीहरु सहभागी भई छातीमा हात राखेर हामी महिलाहरुलाई महिनावारीको समयमा गोठमा बसाल्दैनौ र बस्दैनांै भन्दै प्रतिवद्धता समेत गरेका छन् ।

यसैगरी जिल्लाको तिला गाउँपालिकाको पुरु, ढिमकोट, रावतवाडा, जोगिवाडा, पोख्री, चुलाकोट, डुग्री, खोलीगाउँ छुईगोठमुक्त घोषणा गरिएका छन् । यसैगरी तातोपानी गाउँपालिकाको वाईराका, जैतपुर , हियाखोला, लाम्रा, श्रीनगर, हिमा गाउँपालिकाको कोइरेली, महावै पाथरखोला र पातारासीको माथि लोर्पा, तलि लोर्पगाउँ छाउगोठ मुक्त गाउँ घोषणा भएका छन् ।

जिल्लामा सो अभियानका वारेमा काम गर्दै आएको संस्था सर्वोदय नेपालले पत्रकार सम्मेलन गरेर २१ गाउँबस्ती अन्तर्गतका एक हजार ७४० घरधुरी र आठ हजार ७८९ जनसंख्याले छुईगोठ मुक्त भएको निर्देशक कमल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार महिनावारी भएको समयमा खाना पकाउने छतमा जाने, पानी ल्याउने लगायतका केही सूचांकहरु रहेका छन् । घोषणा गर्नुपूर्व विभिन्न जनचेतना कार्यक्रमहरु, घरदैलो, वैठक गरेर घोषणा गरिने उहाँले बताउनुभयो । गाेरखापत्र

प्रतिक्रिया