बालबालिकालाई प्रधानमन्त्रीको सुझाव : राजनीतिमा नलाग

बालबालिकालाई प्रधानमन्त्रीको सुझाव : राजनीतिमा नलाग

काठमाडौं पुष १६: प्रधानमन्त्री केपी ओलीले बालबालिकालाई पढाइमा केन्द्रित हुन सुझाव दिएका छन् । बुधबार ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक कार्यक्रममा कक्षा १० की छात्रा अस्मिता परियारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन्  । बालाजु बसेर ज्ञानमन्दिर विद्यालयको कक्षा १० मा अध्ययनरत हुम्लाकी अस्मिताले हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्नु उपयुक्त छ कि छैन ? भन्ने प्रश्न सोधेकी थिइन् । 

जवाफ दिदै ओलीले भने, ‘अहिले राजनीतिमा होइन पढाइमा लाग्नुहोस् । आँखा खोलेर ज्ञान लिनुहोस् ।  पछि राम्ररी बुझेर राजनीतिमा लाग्नेगरी तयारी गर्नुहोस् ।’ उनले राजनीतिमा लाग्दा ठूलो संकल्प गर्नुपर्ने कुरासमेत बालबालिकालाई सम्झाए 

‘विद्यार्थी राजनीतिमा लाग्नुपर्छ म भन्दिन । तपाईंहरुले अध्ययन गर्नुपर्छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्छ । सँगसँगै सामान्य ज्ञानको रुपमा देशमा के भइराखेको छ, कस्तो भइराखेको छ, त्यो कुरा थाहा पाउनुपर्छ । सही के हो र गलत के हो थाहा पाउनुपर्छ । राजनीतिको बारेमा थाहा पाउनुपर्छ’, जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘राजनीति देशका नीतिमध्ये मूल नीति हो । राजा र राणाको शासनकालमा देश विकासमा जान सकेन । राजनीति ठिक हुँदा मात्र देश अगाडि बढ्छ । अहिले देशमा शान्ति सुरक्षा छ । राजनीतिक उद्देश्य सही छ ।  राजनीति गलत भए क्रान्तिका नाममा अनेक खालका ध्वंश मच्चाउने गर्छ । राजनीति देशको मूल नीति भएकाले नयाँ पुस्ताले यसको विषयमा थाहा पाउनुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले देशको विषय थाहा पाउन राजनीति बुझ्नु आवश्यक भएको प्रष्ट पारे । उनले मतदाता भएपछि  सही मान्छेलाई मत दिने विषयमा जानकारी राख्नुपर्ने बताए । सँगै ओलीले विद्यार्थीबाटै नेता, डाक्टर, सेना, प्रहरी, इन्जिनियर, वकिल, पाइलट सबै बन्ने भएकाले सबै विषयमा चासो दिनुपर्नेमा जोड दिए । 

‘देश कसरी अगाडि बढेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । दलीय व्यवस्थामा राम्रा र नराम्रा विषय छन् । राम्रा विषयलाई पछ्याउनुपर्छ । तपाईं मतदाता भएपछि ठिक दललाई मतदान दिने कुरामा ध्यान दिनुपर्छ । तर, विद्यार्थीले पढाइ छोडेर राजनीतिक गर्नुपर्छ भन्दिन । विद्यार्थीले राजनीति गर्दै, मन्त्री, प्रधानमन्त्री राष्ट्रपति हुनुपर्छ’, ओलीले भने, ‘तपाईंमध्येबाटै कोही सचिव हुनुपर्छ, कोही सेना हुनुपर्छ, कोही पुलिस हुनुपर्छ, कोही डाक्टर हुनुपर्छ,  कोही  वकिल हुनुपर्छ, कोही इन्जिनियर हुनुपर्छ । जसको रुचि जुन विषयमा छ त्यही क्षेत्रमा जानुपर्छ ।’ 

आआफ्नो क्षेत्रमा सबै लाग्नुपर्नेमा जोड दिँदै ओलीले राजनीतिमा लाग्न विभिन्न कुरा त्याग गर्नुपर्ने कुरा विद्यार्थीलाई सम्झाए । ‘तपाईंहरुले अहिले पढाइ छोडेर राजनीति गर्नु हुँदैन । अहिले तपाईंहरु नगरपालिकामा उठ्न पाउनुहुन्न, मेयरमा उठ्न पाउनुहुन्न, सांसदमा उठ्न पाउनुहुन्न, त्यसैले तपाईं अहिले के राजनीति गर्नुहुन्छ र ? अहिले पढाइमा ध्यान दिनुहोस् । राजनीतिबारे ध्यान दिनुहोस् ज्ञान बढाउनुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा जान खोज्नेले धेरै कुरामा प्रतिवद्धता जनाउनुपर्छ । म भ्रष्ट हुन्न, म इमान्दार राजनीति गर्छु । देश र जनताका लागि राजनीति गर्छु । देश, जनता, दाजुभाइ दिदीबहिनीका लागि काम गर्छु भनेर राजनीतिमा जानुहोस् । राजनीतिमा गएपछि राज्यको ढुकुटीमा हात हाल्ने हो । त्यो हात निकाल्दा तपाईंले चोखो हात निकाल्नु हुन्छ कि हुन्न भन्ने गम्भीर प्रश्न हुन्छ । त्यो इमान राख्न सक्नेगरी राजनीतिमा जाने संकल्प गर्नुहोस् ।’

ओलीले राजनीतिमा प्रवेश गर्नेले धेरै संकल्प गर्नुपर्नेकुरा बालबालिकालाई सुनाए । ‘म आफू पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने मेरो संकल्पले परिणाम निकाल्न थालेको छ । म के भन्छु भने आफू बन्ने कि देश बनाउने ? आफन्त बनाउने कि देश बनाउने ? भन्ने प्रश्नमा ध्यान दिनुपर्छ’, ओलीले भने, ‘राजनीतिमा योग्य मान्छेलाई योग्य ठाउँ दिन आफन्तको माया छोड्नुपर्छ । अहिले राजनीतिमा होइन पढाइमा लाग्नुहोस् । पछि राम्ररी बुझेर लाग्नेगरी तयारी गर्नुहोस् ।’

प्रतिक्रिया