जाडोमा छालाको हेरचाह

जाडोमा छालाको हेरचाह

काठमाडौं। चिसो हावाले मात्र नभई चर्को घामले पनि छालालाई सुख्खा बनाइदिन्छ। जसले सौन्दर्यमा ह्रास ल्याउँछ। अनुहार फुस्रो हुन्छ र अस्वस्थ देखिन्छ। हातखुट्टा फुट्छ। गर्मीमा भन्दा जाडोमा छाला सुख्खा बढी हुने त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठ बताउँछिन्। उनी भन्छिन्, ‘जाडो याममा चिसो हावा र चर्को घाम हानिकारक हुन्छ। यसका लागि शरीर ढाक्ने लुगा लगाउनुपर्छ।’

निराशापन हटाउन घुमफिर उपयुक्त मानिन्छ। तर, घरबाहिरको प्रदूषण, सिर्र चल्ने चिसो हावा र मध्याह्नको चर्को घामले सौन्दर्यलाई बिगार्छ। डा. श्रेष्ठ भन्छिन्, ‘ मोइस्चराइजर क्रिम प्रयोग गरेर अनुहारलाई चम्किलो र मुलायम राख्न सकिन्छ। न्यानो पहिरनबाट पनि छाला जोगाउन सकिन्छ।’

सुख्खा छालाले तनाव

जाडोमा बाह्य वातावरण छालाका लागि प्रतिकूल मानिन्छ। ४० वर्ष नाघेका व्यक्तिमा सुख्खापना वृद्धि हँुदै जान्छ। छाला फुस्रो हुने, अनुहारमा चाउरीपना आउने हुन्छ। छाला रोग विशेषज्ञ डा. श्रेष्ठ भन्छिन्, ‘जाडोमा हावामा पानीको कण न्यून हुन्छ। पानीको मात्रा पनि सुख्खा हावाले घटाउँछ।’ अनुहारको छाला सुख्खा हुँदा व्यक्तित्वमा समेत ह्रास आउने डा. श्रेष्ठ बताउँछिन्।

छालामा सुख्खापना आएको अवस्थामा चिलाउने समस्याले सताउँछ। डा. श्रेष्ठका अनुसार सुख्खा छालामा संक्रमणको समस्या बढी हुन्छ। ब्याक्टेरिया, फंगल, प्यारासाइटलगायत संक्रमण हुने सम्भावना रहन्छ।

डा. श्रेष्ठका अनुसार ५० वर्ष नाघेका व्यक्तिको शरीररमा चिल्लोपना उत्पादन ग्रन्थी सुक्दै गएको हुन्छ। सिबाइसेस ग्रन्थी सक्रिय नहुनेबित्तिकै छाला सुख्खा हुन्छ। त्यसैले बुढ्यौलीपना बढ्दै गएका व्यक्तिमा पनि छाला चिलाउने समस्या देखा पर्छ।

हातखुट्टा फुट्ने समस्या

हातखुट्टा र अनुहारको छाला फ¬ट्ने समस्या पनि जाडो मौसममा देखिन्छ। हातखुट्टामा हिलो एवं धुलो जमेको अवस्थामा पनि फुट्ने समस्या हुन्छ। डा. श्रेष्ठ भन्छिन्, ‘धेरै सुख्खा छाला हुने व्यक्तिको ओठ, अनुहार र हातखुट्टा फुट्ने समस्या देखा पर्छ।’

साबुनले पनि अनुहारको छालालाई सुख्खा बनाउँछ। डा. श्रेष्ठ भन्छिन्, ‘सुख्खा खालको साबुन प्रयोग गर्नु हुँदैन। भरसक साबुन नै कम प्रयोग गर्नुपर्छ। यदि प्रयोग गर्नु परेको खण्डमा ग्लिसिरिन, एलोभेरा भएको साबुन प्रयोग गर्नुपर्छ।’

जाडो मौसममा छालामा सुख्खापन ल्याउने तŒवमध्ये साबुन पनि भएको डा. श्रेष्ठ बताउँछिन्।

घामबाट जोगिउँ

उनी भन्छिन्, ‘चर्को घाममा धेरै बस्ने व्यक्तिलाई छालाको क्यान्सरसमेत हुन सक्छ।’ घाममा बस्दा नांगो छाला बाहिर नदेखाई लुगा लगाएर बस्नुपर्ने डा. श्रेष्ठको सुझाव छ। बिहान र राति सुत्नुअघि मोइस्चराइजर क्रिम एवं लोसन लगाउँदा छाला स्वस्थ र चम्किलो हुने डा. श्रेष्ठ बताउँछिन्। नुहाइसकेपछि भेसलिन, नरिवल र जैतुनको तेल शरीरमा घस्दा फाइदा पुग्छ।

कसरी जोगिने ?     

·   न्यानो पहिरन लगाउने

·   मास्क लगाएर हिंडडुल गर्ने

·    सनग्लास लगाउने

·   पन्जा, मोजा लगाउने

·   अनुहारमा सनस्क्रिम, मोस्चराइजिङ लगाउने

·   भेसलिन, नरिवलको तेल लगाउने

·   नियमित फलफूल सेवन गर्ने

·   पर्याप्त पानी पिउने

·   चिसो हावा र चर्को घाममा धेरैबेर नबस्ने

·    एसी, हिटरको प्रयोग धेरै नगर्ने

प्रतिक्रिया