छाउप्रथा मुलुकका लागि लज्जास्पद् ः मन्त्री गुरुङ्ग

छाउप्रथा मुलुकका लागि लज्जास्पद् ः मन्त्री गुरुङ्ग

दैलेख माघ ७ गते ः सङ्घीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले कर्णाली र सुदुरपश्चिम प्रदेशमा छाउप्रथा कायमै रहनु नेपालका लागि लज्जास्पद् भएको बताएका छन् । छाउपडी प्रथाको अवस्था अनुगमनका क्रममा कर्णालीको भ्रमणमा रहेको मन्त्री गुरुङ्गले छाउगोठ भत्काएपनि मनभित्रको छाउगोठ उस्तै रहेको पाईएको बताए ।

मंगलवार दुल्लु नगरपालिकाद्धारा आयोजित छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रर्वद्धनका लागि अन्तरक्रियामा मन्त्री गुरुङ्गले भने ‘अन्धविश्वास र सामाजिक कुरितिको रुपमा रहेको छाउप्रथा सरकारले अन्त्य गरेरे छोड्छ ।’ त्यसका लागि तीनै तहका सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको मन्त्री गुरुङ्गको भनाई छ । उनले कर्णालीको समृद्धिको निम्ती सरकार प्रतिबद्ध रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले छाउपडी विरुद्ध सरकार गम्भिर भएर लागि परेको बताए । देवी देवता मान्ने सोचबाट गलत संस्कार र संस्कृति कायमै रहेको बताउँदै राज्यमन्त्री रावतले भने ‘आम जनताको पक्षमा सरकारले कुनै पनि काम गर्न पछि हट्दैन् ।’ प्रतिनीधि सभाका सांसद राजबहादुर बुढाले दैलेखमा छाउपडी प्रथाकै कारण आफुलाई लज्जाबोध भईरहेको बताए । ‘महिनावारी हुँदा महिलाहरुलाई छुवाछुत गरिन्छ, विभेद गरिन्छ भनेर कही कतै मुलुकमा सुनिदैन तर नेपालमा मात्रै किन यस्तो ?,’ ठट्यौली शैलीमा सांसद बुढाले भने ‘नेपाल भ्रमण बर्ष २०२० मा पर्यटन मन्त्रीलाई छाउगोठ घुमाउन ल्याउनुप¥यो ।’

सांसद पार्वतीकुमारी विशुन्केले प्रकृतीले दिएको देनलाई लाटो देवता रिसाउने नाममा बुद्धिजिवीहरुलेनै छाउप्रथा जोगाई राखेको बताइन् । किंवदन्तीको रुपमा कुनैबेला इन्द्रले गरेको पाप अहिले आएर महिलाहरुले भोग्नुपरेको उनको भनाई छ । कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्मा, गंगा चौधरी, हिरा गुरुङ्ग लगाएतले अन्धविश्वास र कुरितको रुपमा रहेको छाउप्रथा अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया