सरुवा रोगको नियन्त्रणका लागि तीन सय शैय्याको अस्पताल निर्माण गर्ने मन्‍त्रिपरिषद्को निर्णय

सरुवा रोगको नियन्त्रणका लागि तीन सय शैय्याको अस्पताल निर्माण गर्ने मन्‍त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिए। नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन। सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ। टेकु अस्पताल जम्मा ६० शैय्याको छ।

छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति नेपाल सरकार संवेदनशील रहेको बाँस्कोटाले बताए। प्रवक्ता बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको उल्लेख गरे।

प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार स्वयं अत्यन्त सजग रहेको उल्लेख गर्दै उनले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको बताए।‘नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरुले भनेका छन्’, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएका प्रवक्ता बाँस्कोटाले बताए।

चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे।

‘हामीले उद्धारका लागि तयारी तीव्र पारेका छौँ, प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राख्नुपर्ने हुन्छ, उनीहरुलाई राख्ने स्थानको व्यवस्था गर्दैछौँ”, उनले भने, ‘जहाजको कुनै समस्या छैन, विमानस्थलदेखि ‘क्वारेन्टाइन’ सम्म जाने ठाउँको व्यवस्था गर्नुपर्नेछ। चिकित्सक, अलग्गै वार्ड, स्वास्थ्य परीक्षणलगायतको प्रबन्ध गर्नुपर्ने छ, त्यो व्यवस्था हुँदैछ।’वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले यसमा नआत्तिन अभिभावकलाई आग्रह गरे।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो। पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिको स्वास्थ्यमा सुधार हुने क्रम बढ्दै गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको उनले जानकारी दिए।

प्रमाणित भए कारवाही भोग्नुपर्छ

मन्त्री बाँस्कोटाले सरकारी जग्गा हिनामिना प्रकरणमा दोषी देखिए जो कोहीमाथि पनि कारवाही हुने बताए। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको फैसलाअनुसार नै कारवाही हुने बताए। ‘लालफित्ताधारी र श्वेतफित्ताधारीबीच विभेद हुँदैन, पूर्वाग्रहको कुरै छैन, जे प्रमाणित हुन्छ, त्यो व्यहोर्नुपर्छ’, बाँस्कोटाले भने।

प्रतिक्रिया