संक्रमित युवकलाई दैलेख सदरमुकाम ल्याईदै

संक्रमित युवकलाई दैलेख सदरमुकाम ल्याईदै

भारतबाट आएकाहरु क्वारेन्टाइनमा । तस्बिर : हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख जेठ ६ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती सवा १० बजे दैलेखको आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना संक्रमित भएको पुष्टि गर्यो । कोरोना संक्रमण भएको पुष्टि भएको १६ घण्टा बितिसक्दा समेत कोरोना संक्रमित युवक आफूलाई कोरोना संक्रमण भएको बारे अनविज्ञ छन् ।

उनी सात्तलाको लक्ष्मी माविमा बनाइएको क्वारेन्टाइमा अन्य व्यक्तिसँगै बसिरहेका छन् । उक्त क्वारेन्टाइनमा संक्रमित युवकसहित ३९ जना रहेको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए । ‘सोमबार राती पुष्टि हुने वित्तिकै उपचारका लागि सम्बन्धित अस्पतालमा लैजानुपर्ने हो, तर १६ घण्टा बितिसक्दा समेत उनी क्वारेन्टाइनमै छन् ।’

कोरोना संक्रमण पुष्टि भएका युवक आफूलाई कोरोना संक्रमण भएकोबारे अनविज्ञ रहेको वडाध्यक्ष विश्वकर्माले बताए । सरोकारवाला निकायहरुले वेवास्ता गरेको आठबीस नगरपालिका-१ का बीरबहादुर नेपालीले बताए । ‘सात्तला स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीले सामान्य ज्वरो चेकजाँच गर्ने बाहेक अरु केही काम भएको छैन,’ उनले भने । यता सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले संक्रमित युवकलाई दैलेख सदरमुकाममा ल्याउन लागिएको बताए । एउटा एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएएको उनले बताए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जीवन ज्ञावली, कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीसहितको टोली आठबीस नगरपालिका-१ सात्तलातर्फ गएको छ । दैलेख सदरमुकामस्थित सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको आइसोलेसनमा राखे उपचार गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए । 

सोमबार भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा गरिएको कोरोना भाइरसको पीसीआर परीक्षणमा ती युवकलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि पुन: परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा नमुना पठाइएको थियो । उनी कर्णालीका पहिलो कोरोना संक्रमित हुन्। 

प्रतिक्रिया