‘लामखुट्टेबाट कोरोना भाइरस सर्दैन’

‘लामखुट्टेबाट कोरोना भाइरस सर्दैन’

काठमाडौं जेठ ११ गते । लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने मन्त्रालयले जनाएको छ। आइतबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने जानकारी दिएका हुन्।

‘कोरोना भाइरस लामखुट्टेले सार्छ भन्ने कुरा हालसम्म प्रमाणित भएको छैन, उनले भने,’ नयाँ भाइरस स्वासप्रश्वाससम्बन्धी जीवाणु भएकाले आफूलाई जोगाउन बारम्बार हात धुने, मास्कको प्रयोग गर्ने र खोक्दा कुहिनाको प्रयोग गर्नुपर्छ।’

प्रवक्ता देवकोटाले लामखुट्टेको टोकाइबाट मलेरिया र डेंगुजस्ता रोग सर्न सक्ने बताए। यो समय गर्मीको समय भएकाले थप सतर्कता अपनाउ पर्नेमा जोड दिँदै डा.देवकोटाले भने, ‘लाखुट्टेको टोकाइबाट बच्न घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने र झ्याल तथा ढोकामा जालीको प्रयोग गर्नुपर्छ।’

त्यस्तै डा. देवकोटाले आयुर्वेदिक तथा होमियोप्याथिक औषधिबाट कोरोको उपचार नहुने बताए। आयुर्वेदिक औषधिले मानिसमा रोगसँग लड्न सक्ने शक्ति बढाउन सहयोग गर्ने भएपनि कोरोनासँग यसको कुनै सम्बन्ध नभएको डा. देवकोटाको भनाइ छ।

‘रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिको कोरोना संक्रमणको जोखिम बढी हुन्छ, उनले भने,’आयुर्वेदिक औषधिको सेवन गर्दा फाइदा नै हुन्छ। तर यसको कोरोना भाइरससँग कुनै सम्बन्ध भने छैन।’ हालसम्म कोरोनाको कुनै खोप पत्ता नलागेको पनि उनले जानकारी दिए।

आइतबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार योसँगै नेपालमा  संक्रमितको संख्या ६ सय ३ पुगेको छ। देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४  पुरुषर ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो।

प्रदेश १ का ७ जिल्लाका ८६ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश २ का ८ वटै जिल्ला संक्रमित भेटिएका छन्। प्रदेश २ मा १७९ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशका ११ जिल्लामा ३४ जना संक्रमित छन्।

यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना संक्रमित भएका छन्। प्रदेश ५ का ७ जिल्लाका २८१ जनामा भाइरसको संक्रमण देखिएको छ भने कर्णाली प्रदेशका २ जिल्लामा ४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना गरी जम्मा ४२ जिल्लामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी आइतबार १७ जनाले कोरोना जितेका छन्। कोरोना जित्नेमा वीरगन्जको नारायण अस्पताल र बुटवलको धागोकारखानामा उपचार गराइरहेका हुन्। नारायणीमा डिस्चार्ज हुनेमा बारा पर्सा र रौतहटका स्थानीय हुन्। यो सहित निको हुनेको संख्या ८७ पुगेको छ। नेपालमा कोरोनाले तीन जनाको भने मृत्यु भएको छ।

प्रतिक्रिया