कोरोना नियन्त्रणमा दोस्रो चरणको तयारी गर्दै कर्णाली सरकार : थपिदै भेन्टिलेटर र आईसीयू

कोरोना नियन्त्रणमा दोस्रो चरणको तयारी गर्दै कर्णाली सरकार : थपिदै  भेन्टिलेटर र आईसीयू

सुर्खेत साउन २१ गते । कोरोना महामारी नियन्त्रणका लागि कर्णाली सरकारले दोस्रो चरणको तयारी थालेको छ। देशका अन्य प्रदेशमा लक्षणसहितको सक्रिय भाइरस देखा परेपछि कर्णालीमा उच्च सतर्कता अपनाउन थालिएको हो। यसका लागि प्रदेश सरकारले नाकामा कडाइ गर्नुका साथै स्वास्थ्य पूर्वाधारको व्यवस्थापनमा पनि थप योजना बनाएको छ।

प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्य प्रदेशमा सक्रिय भाइरस देखा परेको र त्यसलाई कर्णालीमा प्रवेश गर्न नदिन आवश्यक तयारी थालिएको बताए। ‘अहिलेसम्मको भाइरस कमजोर नै थियो, अब सक्रिय खालको भाइरस देखिन थालेको छ’, मुख्यमन्त्री शाहीले भने, ‘भाइरसले मुख्य रुपमा फोक्सोमा असर गर्ने र सास फेर्न कठिन हुन्छ, यसकारण पनि हामीले प्रदेशका सबै जिल्लामा तत्काल अक्सिजन प्लान्ट राख्ने तयारी गरेका हौं।’

अक्सिजन प्लान्ट स्थापना भएमा संक्रमितको उपचारमा सहज हुने प्रदेश सरकारको भनाइ छ। यस्तै प्रदेश सरकारले सक्रिय खालको भाइरस भित्रिएमा अवस्था जटिल हुने आंकलन गरेको छ। यसका लागि स्वास्थ्य उपकरण र पूर्वाधार गप गर्न लागिएको छ। सम्भावित महामारी रोक्न तत्काल प्रदेशमा ५० वटा भेन्टिलेटर थप्ने र यसको संख्या एकसय पुर्याइने मुख्यमन्त्री शाहीले बताए। यस्तै आईसीयु बेडको संख्या पनि थप गरेर एकसय बनाइने प्रदेश सरकारले जनाएको छ। कोरोनासँग जुध्नका लागि प्रदेशका हरेक स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन तत्काल बनाउनका लागि बजेट पठाइसकिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेशका हरेक नागरिकलाई दुई मास्क
कर्णालीका सबै नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने गरी प्रदेश सरकारले नयाँ रणनीति बनाएको छ। कोरोना समुदायमा फैलिन नदिन प्रदेशमा रहेका सबै नागरिकलाई अनिवार्य रुपमा मास्क वितरण गरिनेछ। हाल कर्णालीमा करिब १८ लाख जनसंख्या रहेको प्रदेश सरकारको अनुमान छ। हरेकलाई दुई वटाका दरले मास्क निशुल्क बाँड्ने तयारी थालिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए।

 ‘सामाजिक दुरी कायम गराउन प्रयास गर्नेछौं, मास्क अनिवार्य प्रयोग गर्ने अभियान नै संचालन हुनेछ’ मुख्यमन्त्री शाहीले भने,‘हरेकलाई दुई वटा मास्क वितरण गर्नेछौं, मास्क धुन मिल्ने र लामो समयसम्म प्रयोग गर्न मिल्ने खालको हुनेछ।’ कतिपयले आफै पनि मास्क खरिद गर्न सक्ने भएकाले नसक्ने नागरिकहरुको हकमा सरकारले निशुल्क उपलब्ध गराउने योजना रहेको मुख्यमन्त्री शाहीले बताए।

नाकामा अनिवार्य पीसीआर परीक्षण
संक्रमण फैलिएपछि रोकथाम गर्न समस्या हुने भन्दै प्रदेश सरकारले पूर्व रोकथाममै जोड दिएको छ। यसका लागि बाहिरबाट कर्णाली भित्रिने मुख्य नाकाहरुमा कडाइ गरिनेछ। कर्णाली भित्रिने मुख्य नाका बबईमा पीसीआर परीक्षण गरेर मात्र प्रदेशमा प्रवेश दिने योजनामा सरकार छ। 

भारत र देशका अन्य प्रदेशबाट कर्णाली आउनेहरुको अनिवार्य पीसीआर परीक्षण गरिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। पीसीआर विना कसैलाई पनि प्रवेश नदिइने प्रदेश सरकारको भनाइ छ। हाल भारतबाट आएका सबैको परीक्षण भइसकेको भन्दै प्रदेश सरकारले समुदाय स्तरमा परीक्षण भइरहेको जनाएको छ। 

सामाजिक विकास मन्त्री दल रावलले भने,‘हामी अहिले समुदाय स्तरमा परीक्षण गरिरहेका छौं, शंकास्पद र भीडभाड हुने स्थानमा हाम्रो ध्यान केन्द्रीत छ।’ कर्णालीका अन्य जिल्लाको तुलनामा हाल सुर्खेत र दैलेख बढी जोखिममा रहेकाले यी जिल्लाहरुमा समुदाय स्तरमा परीक्षण भइरहेको उनको भनाइ छ। अब परीक्षणको दायरा बढाइने भन्दै मन्त्री रावलले तीन वटा अटोमेटिक मेसिन थप भएकाले दैनिक तीन हजार पाँचसय जनासम्मको परीक्षण गर्ने तयारीमा सरकार रहेको बताए। 

प्रतिक्रिया