नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ पुग्यो

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ पुग्यो

काठमाडौं साउन २७ गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको हो। 

मंगलबार कोरोनाले मृत्यु पुष्टि हुनेमा धनुषाका दुई, काभ्रे र सिन्धुपाल्चोकका एक–एक जना रहेका छन्। धनुषाका ६० वर्षीय एक पुरुषको मृत्यु सोमबार राति भएको हो भने क्यान्सर अस्पताल जनकपुरमा कार्यरत ५० वर्षीया पुरुषको समेत कोरोनाले मृत्यु भएको छ। 

सँगै काभ्रेकी ५० वर्षीया महिलाको मंगलबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएको छ। सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको भने मनमोहन कार्डियो भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको हो। छिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे। 

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने  मृतकको संख्या ८३ पुगेको छ।  मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन्। अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन्।  मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रतिक्रिया