अग्रपंक्तिमा खटिने ४ सय ५४ स्वास्थ्यकर्मी संक्रमित

अग्रपंक्तिमा खटिने  ४ सय ५४ स्वास्थ्यकर्मी  संक्रमित

काठमाडौँ भदाै ८ गते । कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्म ४ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

जसमध्ये चिकित्सक १ सय ४२, अस्पतालका कर्मचारी १ सय २३, नर्स ९४, ल्याब टेक्निसियन ३० र पारामेडिक्स ६५ जना छन् । अस्पतालअनुसारको तथ्यांक हेर्दा भने त्योभन्दा बढी संख्या देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत संक्रमित स्वास्थ्यकर्मीको संख्या धेरै हुन सक्ने जनाएको छ । धेरै अस्पतालले स्वास्थ्यकर्मी संक्रमित भएको भनेर सूचना दिँदा बिरामी उपचारका लागि नआइदिने र स्वास्थ्यकर्मीलाई पनि समाजले अपहेलना गर्ला भन्ने डरले यकिन संख्या उपलब्ध गराउँदैनन् । काठमाडौंको एक सरकारी अस्पतालका निर्देशकले स्वास्थ्यकर्मी संक्रमित हुँदा अरूले उल्टै नराम्रो सोच्ने गरेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम स्वास्थ्यकर्मीहरूले पहिला आफू बच्ने अनि अरूलाई बचाउने भन्ने धारणा राख्नुपर्ने बताउँछन् । उनले भने, ‘ओपीडीमा बस्नेले भाइजर, वाटरप्रुफ मास्क लगाएर मात्र बिरामी जाँच्नुपर्छ । सामान छैन भने बरु मन्त्रालयले उपलब्ध गराउँछ ।’ दिनरात खटिएर बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिएका खबर सुनिए संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको उनको भनाइ छ ।

प्रतिक्रिया