कोभिड–१९ बाट बच्न सावधानीबाहेक अरू विकल्प छैन् :स्वास्थ्य मन्त्री

कोभिड–१९ बाट बच्न सावधानीबाहेक अरू विकल्प छैन् :स्वास्थ्य मन्त्री

काठमाडाैं भदाै १७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरूद्ध खोप तथा औषधिको विकास नभैसकेकाले यसबाट बच्न सावधानीबाहेक अरू विकल्प नभएको बताएका छन् । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारकाको काम थप प्रभावकारी बनाउन तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यको आवश्यकतामा जोड दिए ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसँग बुधबार आयोजित भर्चुअल छलफलमा मन्त्री ढकालले कोभिड–१९ रोकथाम तथा उपचारमा भएका प्रयासहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउन समन्वयात्मक कार्य गर्नुपर्ने बताए । उनले जनस्वास्थ्यको मापदण्ड पालनाका लागि नागरिकमा सचेतना कार्य प्रभावकारी बनाउनुपर्ने बताए । मन्त्री ढकालले कोभिड–१९ नियन्त्रण तथा उपचारमा देखिएका समस्या समाधानका लागि संघीय सरकारले आवश्यक सबै खालका सहायोग गर्न तयार रहेको स्पष्ट पारे । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जोखिम भत्ता र बीमालाई कोभिड जोखिम रहेसम्म कायम रहने उनकाे भनाइ छ ।

सरकारी प्रयोगशालामा दैनिक १८ हजार पाँच सय नमूना परीक्षण गर्न सकिने र विशेष कारणबाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने मन्त्री ढकालले बताए । उनले आइशोलेसन निर्माणका लागि सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाएको चर्चा गरे । भर्चुवल छलफलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णालीका दलबहादुर रावल, प्रदेश ५ का सुदर्शन बराल, गण्डकीका नरदेवी पुन र वाग्मतीका युवराज दुलाल सहभागी हुनुभएको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री कोरोना पोजेटिभ भएर आइसोलेसनमा रहेकाे जनाइएको छ ।

प्रतिक्रिया