कोरोना कसरी सर्छ ? यसबाट कसरी बच्‍ने ?

कोरोना कसरी सर्छ ? यसबाट कसरी बच्‍ने ?

काठमाडौं भदाै २१ गते ।  नेपालमा दैनिक कोरोना भाइरस (कोभिड-१९)  संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमितको संख्या वृद्धिपछि स्वास्थ्य मन्त्रालयले उपचारका लागि होम आइसोलेसनलाई पनि प्राथमिकतामा राखेको छ। मन्त्रालयका अनुसार संक्रमणको कुनै लक्षण वा चिह्न नभएका (एसिम्टोमेटिक) र सामान्य लक्षण भएका तथा चिह्न भएका (माइल्ड) व्यक्तिहरू आआफ्नै घरमा आइसोलेसनमा राखिएका छन्।

अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ। यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, झाडापखाला लाग्नु, श्वासप्रश्वास छिटोछिटो हुनु, श्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ।

कोरोना भाइरसले ठाउँअनुसार फरकफरक असर देखाएको स्वास्थ्य विज्ञले बताउँदै आएका छन्। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले फेसबुकमार्फत विभिन्न मुलुकमा भएका अनुसन्धानको तथ्यसहित कोरोना कसरी सर्छ ? यसबाट कसरी बच्ने ? भन्ने विषयलाई उजागर गरेका छन्।

– भाइरस परिवर्तनशील हुन्छ। यसले स्वरूप परिवर्तन गरिरहन्छ। यो कहिले कमजोर हुन्छ, कहिले कडा हुन्छ। नोबेल कोरोना भाइरस नयाँ हो। यसको धेरै अध्ययन हुन बाँकी छ। यसको परिवर्तनशील स्वरूपको कारण WHO, CDC, FDA, वैज्ञानिक, विज्ञ तथा आम अध्येताको धारणा परिवर्तन हुनु स्वाभाविक हो। 

– भाइरस निकै ट्रिकी हुन्छ। भाइरसको ट्रिकीपन अनुसार कदम चाल्नुपर्ने हुन्छ। तसर्थ पहिले यस्तो भन्थ्यो, अहिले यस्तो भन्यो भन्न भाइरोलोजीमा मिल्दैन। पहिले इटलीमा ९ % मृत्युदर थियो । एउटा देशको उदाहरण अर्को देशसँग मिल्दैन। तसर्थ यसको व्याख्या आधिकारिक निकाय र विज्ञबाट हुन्छ, त्यसलाई विश्वास गरौँ।

–  व्यक्ति आमनेसामने भएर लामो समय कुरा गर्दा, भीडभाडमा जाँदा, भेन्टिलेसन नभएको कोठा वा हलमा कन्सर्ट, नाचगान, भोजभतेर, सेमिनार आदि गर्दा कोभिड १९ सर्ने ठूलो सम्भावना हुन्छ। 

– १५ मिनेटभन्दा धेरै असुरक्षित किसिमले कुनै पनि व्यक्तिसँग ६ फिट नजिक रहेर कुरा गर्दा सर्छ। खोकी तथा छ्युँ गरे छिटो सर्छ।
– कोरोना संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्थामा संक्रमण सार्ने दर धेरै हुन्छ ।

– जति लामो समय अरूसँग कुराकानी गरिन्छ, जति नजिक बसेर कुरा गरिन्छ तथा जति बढी व्यक्तिसँग कुरा गरिन्छ, कोरोना संक्रमण हुने सम्भावना त्यति धेरै हुन्छ।

– हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं। कोरोना संक्रमण सामान्य महामारी हो। यो खोप नआएसम्म रहनसक्छ। तसर्थ यसलाई सरलिकृत बनाऔं। ८५ % संक्रमितलाई आफै वा साधारण उपचारले निको हुन्छ। १० % लाई लाक्षणिक उपचारले ठिक हुन्छ। ५ % लाई आइसीयु, अक्सिजन तथा भेन्टिलेटर चाहिन सक्छ। मृत्यु सरदर २-३ % छ। नेपालमा हाल करिब १ % मृत्युदर छ।

– कोरोना संक्रमणले मुख्य रूपमा फोक्सोलाई असर गर्दछ। त्योबाहेक किड्नी, मुटु, कलेजो, मस्तिष्क, स्नायु, रक्तनली आदिलाई पनि असर गर्दछ। 

– लक्षणविहीन कोरोना संक्रमित बिरामीले अन्य व्यक्तिलाई संक्रमण सर्दैन भन्ने होइन। अमेरिकामा २५-४० % लक्षणविहीन संक्रमित भएको, डाइमन्ड प्रिन्स क्रुजमा पनि लक्षणविहीन संक्रमित भएको, आइसल्याण्डमा ५०% संक्रमित लक्षणविहीन भएको तथा हाल दक्षिण एसियामा करीब ७५ % लक्षणविहीन भएको र उनीहरूले एकअर्कालाई संक्रमण सारेका अनुसन्धानले प्रमाणित गरेका छन्।

 लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले गरेको अध्ययनअनुसार सबै संक्रमित व्यक्तिले रोग सार्न सक्दैनन्। कोरोना संक्रमितमध्ये १०-२० % ले अन्य ८०-९० % लाई संक्रमण सार्न सक्छन् भनिएको छ। 

कसरी बच्ने ?

– हामी आम नागरिकले घरबाहिर जाँदा अनिवार्यरुपमा सहि तरिकाले मास्कको प्रयोग गरौँ। व्यक्तिगत दुरी कायम गरौँ। हात सफा गरौँ। भीडभाड नगरौं। यति गर्यौं भने यो महामारी नियन्त्रण हुन्छ।

– अनिवार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्ने।
– विश्वका धेरै देशमा जनजीवन सहज भएको छ। जनता अनुशाशित र सरकार इमान्दार भएका चीन, जापान, कोरिया, भियतनाम, ताइवान, भुटानजस्ता देशमा मास्क, भौतिक दुरी र सरसफाइले संक्रमण नियन्त्रण भएको छ।

– हामी सबैले ठण्डा र आफ्नै दिमागले सोंचौं। अज्ञानको पछि नलागौं। आफु क्लियर नभएको कुरा सेयर गरेर, विदेशी संस्थालाई गालि गरेर वा नभएका विदेशी उदाहरण दिएर लापरबाही नगरौं।

– हामीले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने जनजीवन अन्य देशमा जस्तै सहज र सरल हुन्छ। हामीले यी उपाय अबलम्बन गरेनौं भने संक्रमण तीब्र गतिमा बढ्छ। हाम्रो जनजीवन अस्तव्यस्त हुन्छ।

– विश्वका धनी देशमा भएका क्षति बुझेर हामीले पाठ सिकौं। हामी अरुको तालमा लाग्दा भोलि संक्रमित भयौं भने उनीहरुले साथ दिदैनन्। हामीलाई चाहिने हाम्रै अस्पताल तथा स्वास्थ्यकर्मी हुन्। उनीहरुलाई प्रोत्साहित गरौँ।

– मास्क लगाउँदा हामीले कार्बनडाइअक्साइडभित्र लिन्छौं, यसले गर्दा धेरैको ज्यान गएको छ भन्नु अज्ञानताको पराकाष्ठा हो। मास्कमा अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याँक्ने सुगमता हुन्छ। मास्क २४ सै घण्टा लगाउनुपर्ने होइन। घरमा बस्दा, एक्लै हिँड्दा तथा सुत्दा मास्क लगाउनु पर्दैन। 

– काम गर्ने ठाउँमा झ्यालढोका खोल्ने तथा उचित भेन्टिलेसनको व्यवस्था गर्नु पर्दछ। हावालाई फोर्स गरेर सिलिङतिर धकेल्ने अनि पम्पिङ गरेर बाहिर पठाउने, कोठा वा हलमा ताजा हावा प्रवेश गर्ने धेरै मार्ग बनाउनु पर्दछ। 

– जेष्ठ नागरिक, दीर्घबिरामी तथा इम्युनसम्बन्धी समस्या भएका व्यक्ति घरमै बस्ने तथा घरभित्र पनि अन्य परिवारजनसँग व्यक्तिगत दूरी कायम गर्नुपर्दछ।
– रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि ताजा तथा पोषिलो खाना, व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन, सकारात्मक सोंच तथा भिटामिन सी, जिंक, भिटामिन बी १२ देखि गुर्जो, अश्वगन्धा, अमला, कागती, तुलसी, दालचिनी, अदुवा, बेसार, मरिच, मह लगायतका सप्लिमेन्टको प्रयोग धेरै प्रभावकारी देखिएको छ।

– हामी नागरिकले कोरोना भाइरसबाट बच्नका लागि हरसम्भव उपाय अपनाउनु आवश्यक छ।

– सबै उमेर समूहका मानिस कोरोना संक्रमित हुन सक्छन्। तर ज्येष्ठ नागरिक र पहिले देखि नै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यस भाइरसबाट बच्नको लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, श्वासप्रश्वाससम्बन्धी सरसफाईमा विशेष ध्यान दिने जस्तै खोक्दा, हाँच्छ्यु गर्दा नाक मुख छोप्नु पर्दछ।

– हामी सबैको सामुहिक प्रयासले जनजीवन सहज र महामारी नियन्त्रण गरौँ। खोप आएपछि महामारीको अन्त्य हुनेछ । अन्नपूर्ण पोस्ट्बाट ।

प्रतिक्रिया