नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै

नेपालमा  कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै

काठमाडौं असाेज ४ गते । नेपालमा  कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा नेपालमा १३ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको छ। 

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।  मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ,  डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।  मन्त्रालयका अनुसार १९० जनाको आइसीयूमा र ३६ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।  

प्रवक्ता गौतमका अनुसार १७ हजार ४७८ कोरोनाका सक्रिय संक्रमित छन्। २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।  कोरोनाले २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११पुगेको छ।  मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ४०७ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ४५१ जना रहेका छन्। पछिल्लो २४ घन्टामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया