मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अन्तिम परीक्षा पनि अनलाइनबाटै, परीक्षा अवधि ८ घण्टा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अन्तिम परीक्षा पनि अनलाइनबाटै, परीक्षा अवधि ८ घण्टा

सुर्खेत असाेज ४ गते । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ । पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले बताए ।यी परीक्षाहरु असोज १७ देखि कात्तिक ६ गतेसम्म हुँदैछ ।

यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाटै मिड ट्रम (सेमेस्टरको बीचमा लिइने) परीक्षा गरेको थियो । ‘करिब ६ हजार विद्यार्थीले (अनलाइनबाटै ) परीक्षा दिइसकेका छन् । मिड ट्रम प्रभावकारी भएपछि फाइनल परीक्षाको तयारी थालेका हौं,’ प्रमुख सुवेदीले भने । विश्वविद्यालयले मिड ट्रम परीक्षा भन्दा अन्तिम परीक्षामा केही सुधार गरेको छ । विद्यार्थीलाई परीक्षा अवधि ८ घण्टा तोकिएको छ । बिहान ८ बजे इमेलबाट परीक्षार्थीलाई प्रश्नपत्र पठाइनेछ । सोही दिन साँझ ४ बजेसम्म प्रश्नको जवाफ लेखेर विद्यार्थीले उत्तरपुस्तिका पठाउनुपर्नेछ ।

कर्णालीको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको प्रमुख सुवेदीले बताए । ‘विद्यार्थीले परीक्षा हलमा परीक्षा दिँदा चार घण्टाको समय लाग्छ । थप चार घण्टा इमेल गर्ने समय थपेका छौं’ उनले भने ।परीक्षार्थीले ‘ए–फोर’ साइजको कागजमा उत्तर लेखेर ‘पीडीएफ’ फाइल बनाई इमेल गर्नुपर्नेछ । प्रश्नको शैली परिवर्तन गरिने विश्वविद्यालयले जनाएको छ । सिर्जनात्मक तथा समस्या समाधानमूलक प्रश्न, केही विषयगत प्रश्न र केही वस्तुगत प्रश्न राखिने परीक्षा व्यवस्थापक डा. सुवेदीले बताए ।

मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन कमलेश डिसीले अहिलेको परिस्थितिमा अनलाइन परीक्षा उत्तम भएको बताए । कोरोना महामारीलाई देखाएर अलमलिनु भन्दा वैकल्पिक उपाय खोजनु उत्तम हुने उनी बताउँछन् ।‘विद्यार्थीले घरमै बसेर गुगलमा खोजेर, कसैसंग सोधेर, पुस्तकका पाना पल्टाएर वा अन्य कुनै माध्यमबाट उत्तर खाजेर जवाफ दिन्छ भने त्यसलाई अन्यथा मान्न मिल्दैन’ उनले भने, ‘बरु समान र हुबहु जवाफ आएको खण्डमा ती उत्तरको नम्बर काट्ने मापदण्ड राख्नुपर्ने हुन्छ ।’ विश्वविद्यालयमा पछिल्लो समय भर्चुअल माध्यमबाट अध्यापन गराइरहेको छ । विश्वविद्यालयको केन्द्रीय र १० वटा आंगिक क्याम्पसका गरी झण्डै ७५ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया