१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ, किशोरीको उद्धार
विराटनगर असाेज ६ गते । सुनसरीबाट भारत लगिएकी एक किशोरीको सोमबार मोरङमा उद्धार भएको छ । रामधुनी नगरपालिका– ५ कि १७ वर्षीय किशोरीलाई सोमबार विहान विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको थियो । भारतको फारबिसगञ्ज क्षेत्रमा पुगेर नेपाल फर्कदै गर्दा विराटनगर महानगरपालिका – १७ इस्लामपुरबाट किशोरीको उद्धार गरिएको हो ।सोमबार साँझ करिब ६ बजे साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले ती किशोरीलाई उद्धार गरेको हो । उनलाई भारततर्फ लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भई रामधुनी नगरपालिका– ५ झुम्कामा तरकारी पसल सञ्चालन गर्ने २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका– ५ घर भएका सुमितकुमार मण्डल र सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
१२ लाखको डिल
मनिका ती किशोरीको घर नजिकै बस्ने हुनाले घरमा पनि आउजाउ थियो । प्रहरीका अनुसार पक्राउ परेकी मनिकाले ती किशोरीलाई विराटनगरमा एउटा पूजामा कन्या पूजामा सहभागी हुने भन्दै सोमबार विहान घरबाट सँगै लिएर आएकी थिइन् । पूजामा कन्या पूजावापत ५ हजार रुपैयाँ दिने र आफूले एउटा मोवाइल किन्ने प्रलोभन मनिकाले ती किशोरीलाई दिएकी थिइन् ।विराटनगर बसपार्क उत्रिएपछि उनलाई सुमित र प्रदीपसमेत मिलेर भारततर्फ लगेका थिए । प्रहरीका अनुसार मनिका फेसबुक मार्फत सुमितसँग नजिकिएकी थिइन् । पछिल्लो केही दिनयता मनिकालाई सुमितले विवाह नभएकी युवती ल्याइदिए ४–५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।
किशोरी पाँच फिट २ इञ्च हुनुपर्ने, विवाह नभएको र महिनावारी नभएको हुनुपर्ने सर्त थियो । सुमितका नातामा भिनाजु पर्नेले पूजाका लागि भन्दै किशोरीको खोजी गरेका थिए ।सोमबार भारत लैजाने योजना अनुसार मनिकाले किशोरीकी आमासँग विराटनगरमा हुने पूजामा आफ्नो साथी जान दिन अनुमति मागेकी थिइन् । सुरुमा असहमति जनाएकी किशोरीकी आमाले पूजामा कन्या पूजामा सहभागी हुने र २ घण्टापछि फर्किने भनेपछि अनुमति दिएकी थिइन् ।
तर साँझसम्म नफर्किएपछि किशोरीकी आमाले फोन गर्दा दुबैजनाको मोबाइल स्वीच अफ थियो ।उता किशोरीलाई भारत पुर्याएको समूहले त्यहाँको सम्पर्क व्यक्ति भेट्न नसकेपछि अलमलियो । त्यतिबेला किशोरीले आफू समस्यामा पर्न लागेको थाहा पाएपछि रुँदै नेपालतर्फ फर्किएको प्रहरीले बताएको छ ।भारतीय सीमावर्ती क्षेत्र मोरङको इस्लामपुरमा साना हातहरु नामक संस्थाले सोधीखोजी गर्दा घटना शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरी स्रोतका अनुसार सुमितका भिनाजु भारतको सुपौल जिल्लामा बस्छन् । उनले सुमितलाई पूजाका लागि किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए । उद्दारमा खटिएको साना हातहरुका विराटनगर प्रमुख विवश श्रेष्ठले बालिकालाई बली चढाउनका लागि लगिएको देखिएको बताए । तर संयोगले उक्त घटना हुन नपाएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बेचबिखनका उद्देश्यले किशोरीलाई भारततर्फ लगेको हुनसक्ने बताए । ‘बली चढाउन लगेको भन्ने खुलेको छैन’ उनले भने ‘अनुसन्धानकै क्रममा छ ।’ प्रहरीले तीनै जना विरुद्ध मानव बेचविखन मुद्धामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद लिएको छ । स्रोत अनलाइनखबर
प्रतिक्रिया