निरन्तर बढ्दै संक्रमित

निरन्तर बढ्दै संक्रमित

दैलेख असोज १६ गते । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दै गएको छ । शुक्रवार मात्रै थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण सुरु भएयताको अवधीमा यति धेरै कोरोना संक्रमित थपिएको पहिलो पटक हो । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
५२० जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट शुक्रवार थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार चार महिला र सात पुरुष गरेर ११ जनाको मृत्यु भएको हो । शुक्रबार कोरोनाले ज्यान गुमाउनेमा काठमाडौं उपत्यका मात्र पाँचजना छन् । काठमाडौंकी ६७ वर्षीया महिला, भक्तपुरका ५१ र ६१ वर्षीया महिला र ललितपुरका ३२ र ७० वर्षीया पुरुषको मृत्यु भएको हो । त्यसैगरी मोरङमा २७ वर्षीया पुरुष, मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५० र ५९ वर्षीया पुरुषको मृत्यु भएको छ भने सुर्खेतमा ७५ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ ।
६० हजार ६९६ ले जीते कोरोना
मन्त्रालयका अनुसार शुक्रवार ३ हजार ३ सय ७ जनाले कोरोना जितेका छन् । एकैदिन कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३ सय ७ रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना जित्नेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ छ । होम आइसोलेशनमा ११ हजार ७ सय ६० जना रहेका छन् ।
मन्त्रालयका अनुसार अहिले ९ हजार ४ सय ७४ जना संस्थागत आइसोलेशनमा छन् । अहिले चार हजार ८ सय ८५ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ७ सय ६० जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ४८ हजार ६ सय ८६ पुगेको छ । मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, र डोल्पामा संक्रमितको संख्या शून्य छ ।
दैलेखमा सक्रिय संक्रमितको संख्या १५
स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुनेको संख्या एक हजार एक सय १९ जना पुगेको छ । ती मध्ये एक हजार एक सय ४ जना निको भई डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । अहिले दैलखेमा सक्रिय संक्रमितको संख्या १५ छ । दैलेखमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया