आफन्तबाटै यौनजन्य अपराध

आफन्तबाटै यौनजन्य अपराध

भोजपुर असाेज २१ गते ।  घटना १ – षडानन्द नगरपालिका–८ तुङ्गेछाका रञ्जित लिम्बूले नातामा बहिनी पर्ने १३ वर्षकी बालिकालाई करणी गरे। कोही नभएको मौका छोपेर आफ्नै काकाकी छोरीलाई फकाइफुल्याई करणी गरेको पाइएपछि प्रहरीले उनलाई गिरफ्तार गर्यो। हाडनाता करणीको अभियोग लागेका उनलाई प्रहरीले पुर्पक्षमा राख्यो। 

घटना २ – भोजपुर नगरपालिका–९ पानीट्यांकीमा नातामा आफ्नै दाजु पर्नेबाट १५ वर्षीया बालिका बलात्कृत भइन्। स्थानीय सुमन सुन्दासले करणी गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानपश्चात् अदालतमा बुझायो। पीडित बालिकाको थप संरक्षण तथा उपचारका लागि दीर्घकालीन संरक्षण गृह विराटनगर पठाइयो। 

घटना ३ – रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा आफ्नै काकाबाट एक किशोरी बलात्कारको सिकार भइन्। घरमा कोही नभएको मौकामा स्थानीय प्रेम दाहालले १७ वर्षीया भतिजीलाई करणी गरेको खुलेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिई पुर्पक्षका लागि राख्यो।  

घटना ४ – पौवादुङमा गाउँपालिका–५ सानो दुम्माकी १५ वर्षीया बालिका पनि आफ्नै काकाबाट बलात्कृत भइन्। स्थानीय राईले सुस्त मनस्थितिकी भतिजीलाई फकाइफुल्याई करणी गरेको खुलेपछि उनलाई पीडित परिवारले प्रहरीमा बुझायो। पीडित बालिकालाई सुस्त मनस्थिति सरोकार मञ्च झापा पठाइएको छ।

घटना ५ – टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा ससुराले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएपछि असोज ३ गते प्रहरीले उनलाई नियन्त्रणमा लियो। डर, धम्की दिँदै घरमा कोही नभएको मौका पारेर स्थानीय जयबहादुर राईले २० वर्षीया बुहारीलाई पटक–पटक करणी गरेको प्रहरीको अनुसन्धानमा खुल्यो। राईलाई मुद्दा दर्ता गरी जेल चलान गरिएको छ भने पीडित महिलालाई संरक्षण गृहमा राखिएको छ। 

भोजपुरमा केही वर्षयता यस्ता घटना बढेका छन्। गत जेठ मसान्तयता मात्रै १५ वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भएका छन्। तथ्यांकअनुसार २०७६/७७ मा भोजपुरमा २० जना बालिका बलात्कारको सिकार भए। अधिकांश घटनामा नाता पर्ने वा घर समाजकै चिनजानका व्यक्तिबाट यस्ता घटना भएका छन्। कानुनी अज्ञानताका कारण ग्रामीण भेगका बालिका तथा महिला डर त्रास र धम्कीले आफन्तबाटै बलात्कार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

नातेदारबाट बालबालिका र महिलाको सुरक्षामा गम्भीर समस्या र चुनौती बनेका प्रहरीको बुझाइ छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी कृष्णकुमार चन्द भन्छन्, ‘घर र समाज बाहिरबाट हुने असुरक्षाको त कुनै विकल्प होला तर घर र समाज वरपर भने बालिका र महिलाहरूको असुरक्षा गम्भीर समस्या र चुनौतीको रूपमा देखिएको छ।’

एकातर्फ अशिक्षा र अर्कोतर्फ बढ्दो सामाजिक सञ्जाल र भर्चुअल जीवनशैलीको लगावले परिवारका सदस्यबीच हेलमेल कम हुँदा यस्ता घटना बढ्न थालेको चन्दको ठहर छ। व्यक्तिको हुर्काइ, संगत, र सामाजिक परिवेशले यस्ता घटना बढ्ने उनले बताए। बालबालिकाको हातमा सामाजिक सञ्जाल र प्रविधिको पहुँच पुगेपछि विभिन्न सामग्रीको खोजी र उत्सुकता बढ्नाले बलात्कारका घटना बढ्न थालेको प्रहरीको अनुसन्धानले देखाएको छ। 

बाबुबाट छोरी, दाजुबाट बहिनी, मामाबाट भाञ्जी, ससुराबाट बुहारी नै असुरक्षित भएपछि छोरी चेली दिनानुदिन असुरक्षित बन्न थालेका छन्। जबरजस्ती करणी, घरेलु हिंसाबाट पीडित बालबालिका र महिलालाई ३५ दिनको अल्पकालीन संरक्षणका लागि विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) को सेफ हाउसमा राख्ने गरिएको छ। पारिवारिक अवस्था, गरिबी, व्यक्तिगत प्रलोभन र सूचना प्रविधिको गलत प्रयोगले यस्ता घटनामा वृद्धि भएको सेफ हाउस प्रमुख नवीन प्रधान बताउँछन्। 

बालबालिका असुरक्षित हुनुमा स्वयं अभिभावक सचेत नहुँदा बालबालिका असुरक्षित बन्ने गरेका महिला तथा बालबालिका अधिकारकर्मीको बुझाइ छ। चिनजानकै व्यक्ति बालबालिकासँग अनावश्यक रूपमा नजिक हुने, खेल्ने र घुमाउन लैजाने बहाना गर्छ भने अभिभावक चनाखो हुनुपर्ने महिला अधिकारकर्मी लीलामाया तामाङले बताइन्। स्रोत अन्नपूर्ण पोस्ट्बाट ।

प्रतिक्रिया