महिलालाई बढी अवहेलना

महिलालाई बढी अवहेलना

दैलेख असोज २८ गते ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख डा. निरञ्जन पन्तले एचआईभी/एड्स संक्रमण रोकथाम र संक्रमितहरुप्रति हुने लाञ्छना, भेदभाव र हेलाँहाको व्यवहार हटाउन प्रभावकारी सचेतना जरुरी रहेको बताएका छन् । नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी) को आयोजनामा दैलेखमा भएको एचआईभी/एड्स भएका व्यक्तिको मानव अधिकार पैरबी सम्वन्धी छलफल कार्यक्रममा डा. पन्तले यस्तो बताएका हुन् । रोजगारका लाग परदेश पुगेका पुरुषको लापरवाहीले एचआईभी÷एड्स रोग भित्रिने तर घरमा बसेको महिलाले अवहेलना बढी खेप्नु परेको डा. पन्तको भनाई छ । संक्रमण रोकथामका लागि प्रभावित क्षेत्रमा सञ्चार सुविधा अभाव र ज्ञानको कमी रहेको उनले टिप्पणी गरे ।
नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी)का कार्यकारी निर्देशक जगदीशचन्द्र भट्टले परदेशमा रोजगारी गर्न जाँदा एचआईभी/एड्स रोग भित्रिनु देशको गरिबी कारक भएको बताए । उनले समस्या हटाउन देशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने औल्याए । एडीसीका कार्यक्रम अनुगमन तथा मूल्यांकन व्यवस्थापक खेमराज जोशीले एचआईभी/एड्स भएका व्यक्तिहरुप्रतिको भेदभाव तथा हेयभाव सून्य पार्न संस्थाले सञ्चार माध्यमबाट सार्वजनिक सरोकारका सन्देश प्रसारण गर्ने, प्रकाशन गरिएका सूचना सामग्रीहरु वितरण र समुदायमा सचेतना कार्यक्रमहरु राखिएको बताए ।
नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी)ले एचआईभी/एड्स भएका व्यक्तिहरुप्रतिको भेदभाव तथा हेयभाव शून्य पार्न सातै प्रदेश सभाका सदस्यहरुलाई सरकारको नीति निर्माण, जनचेतना मूलक सन्देश प्रवाह लगाएका कामहरु एचआईभी/एड्स प्रभावित ४१ जिल्लामा काम गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया