‘जातको प्रश्न’ कुनै धर्मविरुद्ध नभएको समताको प्रष्टोक्ति

‘जातको प्रश्न’ कुनै धर्मविरुद्ध नभएको समताको प्रष्टोक्ति

काठमाडौँ असाेज २८ गते । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘जातको प्रश्न’को निर्माता समता फाउन्डेसनले कार्यक्रम कुनै धर्मविरुद्ध नभएको र कुनै पूर्वाग्रह नराखिएको बताएको छ । अभिनेता राजेश हमाल प्रस्तोता रहेको ‘जातको प्रश्न’लाई क्रिश्चियन लगानीमा हिन्दुविरोधी कार्यक्रम गरेको भन्दै टिकाटिप्पणी र विरोध भएपछि समताले प्रष्टीकरण दिएको हो ।

यो कार्यक्रमको मुख्य उद्देश्य नै जातीय विभेद सम्बन्धि घर घरमा संवादको सुरुवात गर्नु रहेको छ । यस कार्यक्रमा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पुर्वाहग्रह नराखेको स्पष्ट गर्न चाहान्छौ,’ विज्ञप्तिमा लेखिएको छ,’कार्यक्रमबारे आएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौं । हाम्रो समाजमा विद्यमान जातीय विभेदको विविध पक्षमा विचार-विर्मश होस् भन्ने हाम्रो उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पुर्याएको छ ।’ 

दलित समुदायमा भएका र भइरहेका हिंसा र विभेदका घटनालाई उजागर गर्ने कार्यक्रमले क्रिश्चिनय संस्थाको लगानी लिएको भन्दै सामाजिक संजालमा विरोध भएको थियो । संस्थाका अध्यक्ष प्रदीप परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको कानुनको अधिनमा रहेर विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रीय संघसंस्थाको सहकार्य र सहयोगमा संचालन गरिएका परियोजना र कार्यक्रम पारदर्शी ढंगले संचालन गरिएको छ ।’ साथै समता फाउन्डेसनले राजेश हमालको तस्बिर र संस्थाको लोगो दुरुपयोग गरी उनले नबोलेका कुराहरु राखी सामाजिक संजालमा अवफाह फैलाइएको पनि बताएको छ ।

‘उक्त पोस्टर समता फाउण्डेसनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको पनि यसै विज्ञप्तिमार्फत् प्रष्ट्याउँदछौं । अनाधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरि पोष्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारको साईबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया