गरिबीको मारमा परेको हस्तनाको परिवारलाई सहयोग

गरिबीको मारमा परेको हस्तनाको परिवारलाई सहयोग

दैलेख कात्तिक ७ गते ।
चरम गरिबीको मारमा परेको दैलेखका एक परिवारलाई विभिन्न सामाजिक संघ संस्था र सामाजिक अभियान्ताहरुले खाद्यान्न र आर्थिक सहयोग गरेका छन् । चरम गरिबीको मारमा परेको आठबीस नगरपालिका–५ पीपलकोटकी हस्तना विकको परिवारलाई सहयोग स्वरुप संकलन भएको १३ हजार रुपैयाँ र खाद्यान्न सहयोग गरिएको हो ।
६ सन्तानकी आमा हस्तनालाई छाक टार्न हम्मेहम्मे परेको थियो । ज्वाला सन्देश लगाएतका सञ्चार माध्ययममा गरिबीले ठगेको हस्तनाको परिवारलाई गैरसरकारी संस्थाहरुले जीविकोपार्जनमा सहयोग गर्न खोजेपनि वडा कार्यालयले सिफारिस नदिएको र खान लगाउन समेत मुस्किल भएको देखाईएको थियो । ‘मैले किन सिफारिस पाइनँ ?’ शिर्षकमा फोटो सहित समाचार प्रकाशन भएपछि प्रतिनीधि सभा सदस्य पार्वती विशुन्केको पहलमा शान्ति चिल्ड्रेन फाउण्डेशनको पाँच हजार र जिल्लास्थित सामाजिक अभियान्ताहरुले सहयोग स्वरुप संकलन गरेको आठ हजार रुपैयाँ सहित १३ हजार रुपैयाँ हस्तनाको परिवारलाई हस्तान्तरण गरिएको छ । बिहीवार आठबीस नगरकी उपप्रमुख दिपा बोहराले रकम हस्तान्तरण गरिन् ।


बडादशैंको मुखमा भोकभोकै बस्न बाध्य उनको परिवारलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न उपलब्ध गराएको छ । चामल, दाल, तेल, नुन, साबुन, ब्रस, मनजन सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । थोरै भएपनि राहत होस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको संस्थापक अध्यक्ष थापाले जनाए ।
हस्तना २८ बर्ष भइन् । उनका चार छोरी र दुई छोरा सहित ६ सन्तान छन् । बस्नलाई बास र उब्जनी हुने बारी समेत नभएकी हस्तनाको कमाई गर्ने पतिको मृत्युभएपछि समस्यामा परेका छन् । उनलाई ६ सन्तानको पालनपोषणमा हम्मेहम्मे परेको छ । ‘श्रीमानको उपचारमा लागेको ऋण तिर्न सकेको छैन्, बालबच्चाको पालनपोषणमा समस्या छ, छोराछोरी चावपर्वमा पनि भोकभोकै हुन्छन् की भन्ने चिन्ता थियो ।’ उनि भन्छिन् ‘दशैंको बेलामा सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई धन्यवाद ।’

प्रतिक्रिया