बलात्कार घटनामा पीडित महिलालाई सहयोग

बलात्कार घटनामा पीडित महिलालाई सहयोग

दैलेख : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनामा पीडित महिलालाई सहयोग गरेको छ । अपाङ्गता भएकी दैलेखको आठबीस नगरपालिका–१ सात्तलाकी बलात्कार पीडित ३८ वर्षीया एकल महिलालाई १० हजार रुपैंयाँ सहयोग उपलब्ध गराएको हो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको मानव अधिकार सहायता कोषबाट प्राप्त सो रकम नेपाल बार एशासियसनका जिल्ला अध्यक्ष अधिवक्ता माधवराज अधिकारीले दैलेख सदरमुकाममा एक समारोहवीच हस्तान्तरण गरे ।
नेपाल पत्रकार महासंघका जिल्ला सचिव नबिन शर्मा, रिपोर्टर्स क्लवका जिल्ला अध्यक्ष अबिशेक अनुराग, पत्रकारहरु भरतराज अधिकारी, हिम सिजापती, यामराज बिष्ट समेतको उपस्थितीमा पीडित महिलालाई सहयोग रकम प्रदान गरिएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जानकारी दिए ।
ती महिला माथी गाउँकै एक २८ वर्षीय पुरुषबाट मंसिर १० गते राति घरमै बलात्कार भएको विषयमा कानूनी प्रक्रिया अघि बढेपछि आरोपित फरार भएका छन् । तीन सन्तानकी आमा ती महिलाका पतिको तीन वर्ष अघि निधन भएको थियो । शारीरिक रुपमा असक्त भएको कारण उनले मजदुरी पाउन पनि मुश्किल भएको कारण घरखर्च र बालबालिकाको पढाई लेखाई गर्न कठिनाई भएको छ ।
इन्सेकले प्रदान गरेको १० हजार रुपैंयाँ लिन सदरमुकाम आउनुभएकी पीडित महिलालाई नेपाल बारका जिल्ला अध्यक्ष माधवराज अधिकारी, दैलेखका व्यापारी मनोज थापा र शुभचिन्तकहरुले २२ सय रुपैंयाँ यातायात खर्च, स्वीटर र जुत्ता किनेर उपलब्ध गराएको इन्सेक जिल्ला प्रतिनिधि सुनारले जानकारी दिए ।

प्रतिक्रिया