अस्पतालमा छटपटाउँदै बलात्कृत बालिका

अस्पतालमा छटपटाउँदै बलात्कृत बालिका

रौतहट : अस्पतालभित्र आउजाउ गर्ने बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिन भएकी बालिका सुतेकी छन्। बेडकै एक छेउमा आमा र आफन्त उनको अनुहार हेर्दै चिन्तित मुद्रामा छन्।गत सोमबार बलात्कृत ७ वर्षीया बालिकाले उचित उपचार र सुरक्षा नपाएको पीडित परिवारले गुनासो गरेका छन्। ती अवोध बालिका चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन्। मंगलबारदेखि अस्पतालमा राखिएकी उनलाई सामान्यबाहेक उपचार हुन सकेको छैन। बालिकाको बिग्रिँदो अवस्थाले अभिभावक छटपटाइरहेका छन्।

सोमबार दिउँसो करिब १२ बजे रौतहटको चन्द्रपुर नगरपालिका–७ की बालिकालाई २२ वर्षीय दिनेश दास तत्माले बलात्कार गरी घाइते बनाएका थिए। पैसाको प्रलोभन देखाई उनलाई दासले घरनजिकै आम खोला किनारमा लगेर बलात्कार गरेका थिए। प्रहरीले ती बालिकालाई सोमबारै अस्पताल पुर्याएको थियो। त्यसदिन सामान्य उपचार गरी अस्पतालले घर पठाएको थियो।

घरमा उनको स्वास्थ्यमा थप समस्या आयो। अत्यधिक रक्तश्राव भयो। पुनः उपचारका लागि त्यही अस्पताल लगियो। तर, स्वास्थ्यकर्मीले उपचारमा ध्यान नदिएको अधिकारकर्मी र आफन्तले गुनासो गरेका छन्। घटना भएकै दिन अस्पताल पुर्याउँदा डा. जहुर राइनले प्राथमिक उपचार मात्रै गरेर घर पठाएको पीडित पक्षको भनाइ छ। मंगलबार पुनः अस्पताल पुर्याउँदा पनि वास्ता नगरेको गुनासो छ। धेरै अनुरोधपछि बालिकाको घाउमा टाँका लगाइएको अभिभावकले बताए।

बुधबार दिउँसोसम्म रक्तस्राव रोकिएको छैन। बालिका बोल्न डराउँछिन्। छेउमा बसेकी आमा छोरीलाई केही हुन्छ कि भन्ने चिन्तामा छिन्। बाबु अस्पतालबाहिर र भित्र गरेर छटपटाइरहेका छन्। बलात्कारजस्तो घटनाका पीडितलाई धेरै भीड हुने ठाउँमा राखिएको छ।

चन्द्रपुर नगरपालिकाका उपमेयर रामरती चौधरीले उपचारमा आवश्यक संवेदनशीलता नदेखिएको जनाउँदै त्यसको उचित व्यवस्था मिलाउन आग्रह गरिन्। अस्पताल पुगेका नगरपालिकाका जनप्रतिनिधि तथा अधिकारकर्मीले बलात्कारीलाई हदैसम्म कारबाहीसमेत माग गरेका छन्। आरोपीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

अस्पतालका निमित्त इन्जार्जसमेत रहेका डा. राइनले बालिकाको उपचारमा कुनै कमी नराखेको प्रतिक्रिया दिएका छन्। अस्पतालकी नर्स कुन्ता दाहालले बालिकाको उपचार र रेखदेखमा स्वास्थ्यकर्मीहरू सक्रिय रहेको बताइन्। अन्नपूर्ण पोस्ट्

प्रतिक्रिया