तीन महिनाभित्र सबै नेपालीलाई कोरोना खोप : प्रधानमन्त्री ओली

तीन महिनाभित्र सबै नेपालीलाई कोरोना खोप : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका हुन्।

‘तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप लगाइसकिन्छ, उनले भने, ‘चाहे हामी अनुदानको रुपमा प्राप्त गरौं। जस्तो यसपल्ट प्राप्त गरेका छौं। चाहे हामीले किन्न परोस्। सबै नेपालीलाई निशुल्क र भेदभावबिना यो खोप उपलब्ध गराइनेछ।’

माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न प्रधानमन्त्री ओलीले आह्वान गरेका छन्। उनले सबै नागरिकलाई यो खोप निशुल्क उपलब्ध हुने स्पष्ट पारेका छन्। बुधबारबाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिँदैछ। यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ।

नेपालमा कोभिड-१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाएका हुन्। नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान सहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

प्रतिक्रिया