भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

धनगढी : बैतडीको दोगदाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न भनेर सार्वजनिक गरिएका दिनेश भट्टले बुवाकै सामुन्ने हत्या र बलात्कार गरेको स्वीकार गरेका छन् । सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपक भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरी उच्च स्रोतले बतायो । दिनेश १६ वर्षका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार संरक्षकको रोहवरमा लिइएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ । 

बालबालिका सम्बन्धी ऐन २०७५ मा १८ वर्ष भन्दा मुनीकोलाई बालबालिका भनिने व्यवस्था रहेको बताए । दिनेश १६ वर्षका रहेकाले, सरकारी वकिलको कार्यालयमा संरक्षकको रुपमा दिनेशका बुवा दिपक भट्ट सहभागी भएका हुन् ।‘पहिला लडाएँ, त्यसपछि अर्को पल्ट पनि लडाएर अलि तल लगेँ, उ (भागरथी) प्रतिकार गर्ने अवस्थामा नरहेका बेला एक पटक यौन सम्पर्क गरेँ । अनी घाँटी थिचेर हत्या गरेँ भनेर उनले सरकारी वकिलको कार्यालयमा बुवाको सामुन्नेमै बयान दिएका छन्’, उच्च प्रहरी स्रोतले भन्यो।

सरकारी वकिलको कार्यालयमा दिएको बयानमा उनले घटनामा आफू मात्रै संलग्न रहेको बताएका छन् । ‘घटनामा आफूबाहेक कोही पनि संलग्न नरहेको बयान दिएका छन्’, स्रोतले भन्यो । दिनेशले प्रहरी चौकी खोचलेकमा दिएको प्रारम्भिक बयानमा आफू खोचलेक बजारबाट भागरथीको पछिपछि गएको, सिल्ल भन्ने गाउँमा भागरथीलाई उछिनेर अगाडि गएको र घटनास्थलमा ढुकेर बसेको बताएका थिए । उनले, भेट हुने बित्तिकै एयरफोन लगाएर गीत सुनेर आफू नजिक आएकी भागरथीलाई घचेटेर खोल्सामा फालेको, त्यसपछि अलि तल गएर पुनः तल फालेको, ऊ अचेत भएपछि हत्या गरेको मात्रै बयान दिएका थिए । 

प्रारम्भिक बयानमा, प्रहरीलाई उनले भागरथीको तल्लो वस्त्र खोलेको मात्रै तर बलात्कार नगरेको बताएका थिए । यही कुरा सञ्चार माध्यममा आएपछि, सबैले हत्या दिनेशले गरे भने बलात्कार कसले ग¥यो ? भनेर प्रश्न उठाएका थिए ।बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा रहेको सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला स्थानीय लवलेक सामुदायिक वनमा भागरथीको बलात्करपछि हत्या भएको थियो । २१ गते बलात्कारपछि हत्या गरिएकी भागरथीको २२ गते शव भेटिएको थियो ।

प्रहरीले, घटनामा संलग्न भएको आरोपमा मंगलबार भागरथीकै भाइ नाता पर्ने १६ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । प्रहरीले लिएको प्रारम्भिक बयानमा दिनेशले आफूले घरायसी रिसइबीका कारण भागरथीलाई खोल्सामा लडाएर हत्या मात्रै गरेको बयान दिएका थिए । दिनेशले, बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मलेलन गर्दासम्म आफन्तले सोधपुछ गर्दा पनि बलात्कार नगरेर हत्या मात्रै गरेको स्वीकार गरेका थिए । जिल्ला अदालत बैतडीबाट अनुसन्धानका लागि भन्दै मंगलबारदेखि लागु हुने गरी पाँच दिनको म्याद थपिएको छ । 

दिनेशको बिहीबार १० बजेदेखि बेलुकी साढे ६ बजेसम्म दिनभरी सरकारी वकिलको कार्यालय बैतडीमा बयान भएको छ । ‘दिनेशले घटनामा आफूबाहेक कोही पनि संलग्न नभएको बयान दिएका छन्’, बैतडीका भानदेव जोशीले भने, ‘अनुसन्धानका क्रममा भएकाले बयानको बारेमा सबै भन्न मिल्दैन ।’ 

अभियुक्तले बताएको आधारमा घडी भेटियो
हत्याका दिन भागरथीले लगाएको घडी, शव भेटिएको स्थान नजिकै भेटिएको छ । आरोपितले दिएको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरिक्षक जनक धामीको नेतृत्वमा गएको प्रहरी टोली र आफन्त घटनास्थल गएका थिए ।‘अभियुक्तका काका देवराज भट्ट, भागरथीका दाइ केशव भट्ट र प्रहरीको टोली घटनास्थल गयो, आरोपितले भनेको स्थानमा हिलो लागेको अवस्थामा घडी फेला परेको छ’, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता एसएसपी मुकेश सिहले भने ।

सरकारी वकिलको कार्यालयमा बयानका क्रममा आरोपितले बलात्कारपछि हत्या गरेर फर्किदा घटनास्थलकै अलि माथि घडी भेटिएको र त्यो घडी पश्चिमतर्फ फालेको बयान दिएका थिए । त्यही बयानका आधारमा घडी छ कि छैन भनेपछि आफन्तसहित प्रहरी टोली घडी खोज्न पुगेको थियो । ‘हामीले आफन्त लगेर नै घटनास्थलमा अभियुक्तले भनेको लोकेशनमा घडी खोज्यौ, भनेको स्थान आसपासमै हिलोले लतपतिएको अवस्थामा घडी पाइयो’, घटनास्थल गएका प्रहरी निरिक्षक जनक धामीले भने । 

प्रतिक्रिया