मृगौला प्रत्यारोपण गर्न भारतमा रगत जाँच गर्नुपर्ने बाध्यताको अन्त्य

मृगौला प्रत्यारोपण गर्न भारतमा रगत जाँच गर्नुपर्ने बाध्यताको अन्त्य

भक्तपुर : मृगौलालगायतका अंग प्रत्यारोपण गर्नको लागि भारतमा रगत जाँच गर्न पठाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अंग प्रत्यारोपणको लागि रगतको क्रसम्याच र टिस्यु टाइप परीक्षण गर्ने मेसिन जडान गरेसँगै भारतमाथिको निर्भरताको अन्त्य हुने भएको हो।यसअघि केन्द्रले आफूकहाँ अंग प्रत्यारोपण हुने बिरामी तथा अंगदाताको रगत क्रसम्याचलगायत गर्न भारतमा परीक्षण गर्न पठाउँदै आएको थियो। जसले गर्दा अंग प्रत्यारोपण प्रभावित हुँदै आएको केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए। उनका अनुसार केन्द्रमा उक्त उपकरण जडान भएर अहिले त्यसको प्रयोगबारे प्रशिक्षण चलिरहेको छ। डा. पुकारचन्द्र श्रेष्ठ केन्द्रमा कार्यकारी निर्देशक छँदै करिब एककरोड २५ लाख रुपैयाँ खर्चेर उक्त उपकरण झिकाइएको थियो तर ठेकेदारले महिनौं आलटाल गर्दा उपकरण प्रयोगमा ल्याउन नसकिएको डा. ज्ञवाली बताउँछन्।

गएको बैशाखमा सरकारले डा. श्रेष्ठको ठाउँमा डा. ज्ञवालीलाई कार्यकारी निर्देशकमा नियुक्ति दिएको थियो।‘केन्द्रमा उपकरण आएपनि ठेकेदारले कोभिड १९ को बहानामा महिनौं अलमल गरे’, उनले थपे, ‘कहिले इञ्जिनियर आएनन् भनेर झुलाए। कहिले प्लेन उडेन भनेर अलमल्याए।’उनका अनुसार अहिले पनि ठेकेदारले उपकरणको रेडिजिन ल्याएका छैनन् तर उपकरण सञ्चालन गर्नेबारे प्रशिक्षण अघि बढेका कार्यकारी निर्देशक डा. ज्ञवालीले सुनाए।
‘अझै उपकरणको रेडिजिन ल्याइपुर्याएको छैन’, उनले भने, ‘तर उपकरण सञ्चालनबारे प्रशिक्षण सुरु भएकाले चाँडै उपकरण प्रयोगमा ल्याउने अवस्थामा पुगेका छौं।’

यो उपकरण सञ्चालनमा आएसँगै अंग प्रत्यारोपणको लागि आवश्यक रगतको क्रसम्याच तथा टिस्यु टाइपको रिपोर्ट २४ घन्टाभित्रै दिन सकिने उनले स्पष्ट पारे। जसले गर्दा अंग प्रत्यारोपण गर्न अझ सहज र छिटो हुन उनको भनाइ थियो। ‘पहिले भारतमाथि निर्भर भएर रगत जाँचको रिपोर्ट आउन ढिलाइ हुँदा अंग प्रत्यारोपण नै रोक्नुपर्ने बाध्यता थियो’, डा. ज्ञवालीले भने, ‘रिपोर्ट समयमै नआउँदा प्रत्यारोपण गर्न बेडमा सुताएको बिरामीलाई नै फर्काउनु परेको थियो।’ केन्द्रले सातामा तीन दिन अंग प्रत्यारोपण गर्दै आएको छ। जसअनुसार केन्द्रले महिनामा १२ वटासम्म मृगौलालगायतका अंग प्रत्यारोपण गर्नसक्छ। कार्यकारी निर्देशक डा. ज्ञवालीले केन्द्रमै रगत जाँचको मिक्सम्याच तथा टिस्यु टाइप परीक्षण गर्ने उपकरण प्रयोगमा आएपछि योभन्दा बढी संख्यामा मृगौला प्रत्यारोपण गर्न सकिने विश्वास व्यक्त गरे।

कोभिड १९ पछि आठ वटा मात्रै प्रत्यारोपण
कोरोना भाइरस संक्रमणको महामारीपछि केन्द्रले हालसम्म ८ जनामा मात्रै मृगौला प्रत्यारोपण गरेको छ। जसमध्ये एकजनाको मृगौला अस्वीकृत (रिजेक्ट) हुँदा झिकेर फाल्नुपरेको डा. ज्ञवालीले बताए। उनले ती व्यक्तिको मृगौला रिजेक्ट भएपनि बिरामीको ज्यान जोगाउन सफल भएको दावी गरे। उनले कोभिड १९ को कारण अन्य अस्पतालमा प्रत्यारोपण सुरु नै नहुँदा केन्द्रले सुरु गरेकोसमेत बताए।

हल्लामात्रै भयो, जग्गा पाएनौं
कार्यकारी निर्देशक डा. ज्ञवालीले केन्द्रले दिने सेवाअनुसार ठाउँ सारै साँघुरो भएको सुनाए। केन्द्रको लागि धेरै ठाउँमा जग्गा हेरिए पनि उपलब्धि हात नलागेको उनको भनाइ थियो। केन्द्रको लागि भक्तपुरकै चाँगुनारायण नपा वडा नं. ७ वागेश्वरी, वडा नं. ३ झौखेल, सूर्यविनायक नपा ७ गुण्डु र मध्यपुर थिमि नपाका धेरै ठाउँमा जग्गाको प्रस्ताव गरिए पनि कहींकतै उपयुक्त ठाउँ नदेखिएको कार्यकारी निर्देशक डा. ज्ञवालीले बताए।

‘अहिले केन्द्रको लागि कहींकतै जग्गाको व्यवस्था भएको छैन’, उनले भने, ‘हल्लामात्रै बढी भयो तर जग्गा हात लागेको छैन।’उनले केन्द्रको लागि कम्तीमा ३० रोपनी क्षेत्रफलको जमिन आवश्यक रहेको बताए। उक्त क्षेत्रफलको जग्गा पाएको भोलिपल्टै केन्द्रले चौघेरा पर्खाल लगाइहाल्ने डा. ज्ञवालीले सुनाए।

प्रतिक्रिया