कोरोना संक्रमण तीव्र : संक्रमितमध्ये १० प्रतिशत बालबालिका

कोरोना संक्रमण तीव्र : संक्रमितमध्ये १० प्रतिशत बालबालिका

काठमाडौं : कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चपेटामा बालबालिका पर्न थालेका छन्। कुल संक्रमितको १० प्रतिशत बालबालिका संक्रमणमा परिरहेका छन्। यूके भेरियन्ट  र डबल म्युटेन्ट भाइरस छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी सरेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  हालसम्म पाँच वर्षमुनिका ३ हजार ५ सय ६५ बालबालिका संक्रमित भइसकेका छन्। पाँच वर्षमुनिका ५१ जना सक्रिय संक्रमित छन्। पछिल्लो चौबीस घण्टामा १० देखि १९ वर्ष उमेर समूहका ९१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, नौ वर्षमुनिका २१ जनामा कोरोना पुष्टि भएको छ।  

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टले बच्चाहरूमा संक्रमण अहिलेभन्दा बढी हुन सक्ने बताए। अध्यक्ष डा. विष्टका अनुसार ठूला व्यक्तिको तुलनामा बालबालिकाको कोभिड–१९ परीक्षण कम गरिएको छ। ‘बालबालिका बिरामी भई अस्पताल भर्ना गर्नुपरे र परिवारका अन्य सदस्य बिरामी भई स्क्रिनिङ गर्नुपरे मात्र बच्चाहरूमा कोरोना परीक्षण गरिन्छ’, डा. विष्टले भने, ‘तसर्थ बच्चाहरूमा संक्रमण अहिले देखिएभन्दा बढी हुनुपर्दछ।’कतिपय बच्चामा लक्षण नदेखिए पनि संक्रमण भएको भए अन्य व्यक्तिमा सार्न सक्ने सम्भावना रहेको विज्ञ बताउँछन्। डा. विष्टले अत्यावश्यक कामबाहेक आफू र आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजान आग्रह गरे। पहिलो लहरको तुलनामा कोरोना भाइरसको दोस्रो लहरमा कम उमेरका बालबालिका बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ। 

एकै दिन १०९६ संक्रमित 
हाल मुलुकभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित छन्। पछिल्लो चौबीस घण्टामा मात्रै १ हजार ९६ जना संक्रमित थपिएका छन्। त्यस्तै चार संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्यका जानकार तथा अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितका अनुसार हाल देखिएको संक्रमण आक्रामक स्तरको छ। छोटो समयमा धेरै व्यक्तिमा सर्दै छ, जुन पहिलोभन्दा एकदमै फरक हो। धेरैमा स¥यो भने संक्रमणदर पुरानै भए पनि कडा संक्रमित हुनेको संख्या बढ्ने डा. दीक्षितले बताए। पछिल्लो चौबीस घण्टामा ५ हजार ७ सय ८३ जनाको पीसीआर परीक्षण गरिँदा ६ स २ जना पुरुष र ४ सय १३ जना महिलामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १ सय १६ जना आईसीयूमा छन्। त्यस्तै, ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

स्वास्थ्य अधिकार जोखिममा : आयोग
राष्ट्रिय मानवअधिकार आयोगले शिक्षण संस्थालगायत भीडभाड हुने क्षेत्र सञ्चालनमै रहेको र स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा बालबालिकाको स्वास्थ्यको अधिकार जोखिममा परेको जनाएको छ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेका छन्। पछिल्लो दुई हप्तामा ३ सयभन्दा बढी बालबालिका कोरोनाबाट संक्रमित भएको जानकारी आयोगलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकाका तीनसहित१४ जिल्लामा शिक्षण संस्थालगायत भीडभाड हुने क्षेत्र तथा सेवा तत्काल बन्द गर्न सुझाव दिएको थियो।आयोगले हालै उपत्यकास्थित विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना तथा बालबालिकामा संक्रमणको जोखिम सम्बन्धमा स्थलगत अध्ययन गरेको थियो।  अन्नपुर्ण पोस्ट्बाट

प्रतिक्रिया