सात डाक्टर पक्राउ

सात डाक्टर पक्राउ

काठमाडाैं : अस्पताल भर्ना गरिएका सिकिस्त बच्चाको उपचारमा संलग्न चिकित्सक नै नक्कली भएको थाहा पाउँदा अभिभावकको मनोदशा कस्तो होला ? धनुषास्थित जनकपुर चिल्ड्रेन अस्पतालमा बिरामी बच्चा उपचार गराएका अभिभावक अहिले चिन्तामा परेका छन् ।  अस्पतालमा कार्यरत चिकित्सक कार्यरत भएको वर्ष दिनपछि नक्कली भएको पुष्टि भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुवासप्रसाद साह नक्कली चिकित्सक रहेको खुलेको छ । उनी एक वर्षदेखि जनकपुर चिल्ड्रेन अस्पतालको आकस्मिक कक्षमा कार्यरत थिए । एसएलसीमा ६१ प्रतिशत र प्लस टुमा ५५ प्रतिशत नम्बर ल्याएका उनले बंगलादेशको चटगाउँस्थित ट्रस्ट मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए । प्रहरीका अनुसार उनले एमबिबिएस अध्ययनकै लागि एसलसीको नम्बर सच्याएका थिए । 

उनी जस्तै मोहम्मद राहिद राजाले पनि बंगलादेशस्थित इस्ट मेडिकल कलेजबाट एमबिबिएस गरे । नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिए । उनी दुई वर्षदेखि काठमाडौंको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालको आकस्मिक कक्षमा कार्यरत थिए । प्रहरीका अनुसार एसएलसीमा ६८.६३ प्रतिशत र प्लस टुमा ७० प्रतिशत नम्बर ल्याएका उनले पनि छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न एसएलसीको सर्टिफिकेटको नम्बर सच्याए । 

बंगलादेशको बंगाल मेडिकल कलेजबाट एमबिबिएस गरेका मोहम्मद सिद्धिकले पनि एसएलसी र प्लस टुमा प्राप्त गरेको अंक सच्याए । छात्रवृत्तिमा एबिबिएस अध्ययन गर्न बंगलादेश गए । प्रहरीका अनुसार एसएलसीमा ६८.५ र प्लस टुमा ६० प्रतिशत नम्बर ल्याएका उनी १५ महिनादेखि न्युरो अस्पताल विराटनगरमा कार्यरत थिए ।

पक्राउ परेकाहरूले एसएलसी सर्टिफिकेटमा प्राप्त गरेको नम्बर सच्याएर प्रमाणपत्र नक्कली बनाएको पाइयो । सोही आधारमा एमबिबिएस अध्ययन गर्न चीन र बंगलादेश पुगेको र अध्ययनपछि नेपाल मेडिकल काउन्सिलबाट पनि प्रमाणपत्र निकालेको देखियो । जसमध्ये चारजना अस्पतालमै कार्यरत थिए । – डिआइजी सहकुल थापा, सिआइबी प्रमुख

सिआइबीको विशेष अप्रेसनपछि नक्कली सर्टिफिकेटका आधारमा डाक्टर बनेका उनीहरूजस्तै मनाङ चामे–५ का ३१ वर्षीय दीपेन्द्र गौतम, सप्तरी सकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर–२ फराज हुसेन खान पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये पल्लवी किस्ट मेडिकल कलेज ललितपुरमा एमबिबिएस अध्ययनरत छिन् । उनले छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न एसएलसीको सर्टिफिकेट नक्कली बनाएकी थिइन् ।

त्यस्तै, बंगलादेशको इब्राहिम मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेका फराज हुसेन नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिने चरणमा थिए । उनले एसएलसीको सर्टिफिकेट नक्कली बनाएका थिए । चीनको हुवेई युनिभर्सिटीबाट एमबिबिएस गरेका अखिलेशकुमार देव पनि नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिने चरणमा थिए । छात्रावृत्तिमा एमबिबिएस अध्ययन गर्न उनले एसएलसीको सर्टिफिकेट नक्कली बनाएका थिए । दीपेन्द्र गौतमले पनि एमबिबिएस अध्ययन गर्न एसएलसीको प्रमाणपत्र नक्कली बनाएका थिए ।

सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एसएलसीमा प्राप्त नम्बर सच्याएर डाक्टर अध्ययन गर्न गएको अनुसन्धानबाट खुलेको बताए । ‘पक्राउ परेकाहरूले एसएलसी सर्टिफिकेटमा प्राप्त गरेको नम्बर सच्याएर प्रमाणपत्र नक्कली बनाएको पाइयो । सोही आधारमा एमबिबिएस अध्ययन गर्न चीन र बंगलादेश पुगेको र अध्ययनपछि नेपाल मेडिकल काउन्सिलबाट पनि प्रमाणपत्र निकालेको देखियो । जसमध्ये चारजना अस्पतालमै कार्यरत थिए,’ उनले भने ।

प्रहरीका अनुसार छात्रवृत्तिमा अध्ययन गर्ने उद्देश्यले उनीहरूले नक्कली प्रमाणपत्र बनाएको अनुसन्धानबाट देखिन्छ । ‘धेरै नम्बर प्राप्त गरेको सिम्बोल नम्बर खोजे । सोही सिम्बोल नम्बरका आधारमा नक्कली सर्टिफिकेट झिके । कतिले भने राम्रो नम्बर आएको विषयसँग र कम नम्बर आएको विषयको नम्बर साटफेर गरे । निकै चलाखीपूर्ण ढंगले यो काम भएको देखिन्छ,’ थापाले भने ।

प्रहरीका अनुसार पक्राउ परेका सबैले पुरानो बसपार्कस्थित ज्योतिदीप कन्सल्टेन्सीबाट नक्कली प्रमाणपत्र बनाएको देखिन्छ । प्रमाणपत्र उपलब्ध गराउने कन्सल्टेन्सीका अरुण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ‘यिनीहरूले पुरानो बसपार्कमा रहेको ज्योतिदीप कन्सल्टेन्सीबाट नक्लकी प्रमाणपत्र बनाएको देखिन्छ । यसका सञ्चालकलार्ई पनि पक्राउ गरेका छौँ,’ सिआइबी प्रवक्ता एसपी गंगा पन्तले भनिन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया