६ बुँदे प्रस्ताव सहित ओलीद्वारा एमाले एकताको आह्वान

६ बुँदे प्रस्ताव सहित ओलीद्वारा एमाले एकताको आह्वान

काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी एकताको आह्वान गरेका छन्। जसका लागि प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव  अघि सारेका छन्। अध्यक्ष ओली पार्टी संरचनालाई २०७५ साल जेठ २ को अवस्थामा फर्काउन तयार भएका छन्। नेताहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही नगरिने प्रतिबद्धता ओलीले जनाएका छन्। कसैप्रति पूर्वाग्रह नराख्ने र भेदभाव नगरिने उनको प्रतिबद्धता छ।

‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन्’, अध्यक्ष ओलीको प्रस्तावमा छ, ‘मातहतका पार्टी कमिटी र जनसंगठनहरू मूलभूत रूपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुनेछन्। संगठनात्मक क्षेत्रका यी निश्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्नेछ।’

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको थियो। उक्त समूहको मागअनुसार ओलीले प्रस्ताव गरेका हुन्। एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकीकरण भई नेकपा गठन भएको थियो। तर, सर्वोच्च अदालतले गत फागुन २३ गते उक्त एकीकरण बदर गर्दै साविक पार्टी ब्युँउताउने फैसला सुनाएको थियो।

ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ २०७५ जेठमा माओवादी केन्द्रसँग एकीकरणको ऐतिहासिक निर्णय गरेको जनाएका छन्। ‘एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रूपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहोर्याइरहन आवश्यक देख्दिनँ’, उनले भनेका छन्, ‘तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन। यसका कारणहरूबारे यहाँ धेरै भन्न चाहन्नँ। २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भंग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन्। तर, यो यथार्थ होइन।’

उनका अनुसार सर्वोच्चले त नेपाल कम्युनिस्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको हो। एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो। र, यसका लागि समय पनि दिएको हो। ‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैं पहल पनि लिएको हुँ’, उनको भनाइ छ।

तर, पुष्पकमल दाहालको अनिच्छाका कारण आफ्नो प्रयास सफल हुन नसकेको आरोप उनले लगाएका छन्। त्यसपछि मात्रै एमालेलाई नयाँ स्वरूप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेको उनको भनाइ छ।

‘नेकपा (एमाले) को निर्माण र विकासमा हजारौं योद्धाहरूको पसिना, त्याग र बलिदान अन्तरनिहित छ। यस पार्टीप्रति जनताको अपार विश्वास छ। नेकपा (एमाले) लाई सुदृढ गरेर मात्रै कम्युनिष्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउन सकिन्छ’, उनले भनेका छन्, ‘यसो गरेर मात्रै मुलुकको लोकतन्त्र सुदृढ हुन सक्छ। त्यसको जगमा मात्रै राष्ट्र एकताबद्ध र  सबल हुन सक्छ। विकसित र समृद्ध हुन सक्छ। त्यसैले यस पार्टीलाई किमार्थ कमजोर बन्न दिनुहुँदैन।’

उनले एमालेमा देखापरेका समस्याबाट पार्टी पंक्ति मात्रै होइन, राजनीतिक स्थिरता र लोकतन्त्रका पक्षधरसमेत चिन्तित रहेको जनाएका छन्। ‘परिस्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर पार्टी अध्यक्षका हैसियतले मैले एकताका निम्ति गरेको अथक प्रयास र निरन्तर पहलबारे यहाँहरू सबै परिचित हुनुहुन्छ’, उनले भनेका छन्, ‘तर हाम्रा अनवरत प्रयासका बाबजुद जे नहुनुपथ्र्यो, त्यही भइरहेको छ। जे हुनुपथ्र्यो, त्यो भने भइरहेको छैन।’

पार्टी एकताको मुख्य आधार पार्टीका स्थापित सिद्धान्त र नीति, विधि र पद्धति एवं मूल्य र मान्यताहरू रहेको उनको भनाइ छ। ‘राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर असल मनशायले अगाडि बढ्ने हो भने हामीबीचका समस्याहरू समाधान हुन नसक्ने म कुनै कारण देख्दिनँ’, उनले भनेका छन्, ‘त्यसका लागि सबैभन्दा पहिले हामी एक ठाउँमा उभिन जरुरी छ। एकताको लक्ष्य राखेर सकारात्मक र सिर्जनात्मक योगदान गर्न आवश्यक छ।’ ओलीले आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदको हस्ताक्षर फिर्ता हुने अपेक्षा लिएका छन्।

दोस्रो तहका नेताहरूले पार्टी एकताका लागि निरन्तर प्रयास गरिरहेका छन्। जसमा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र नेपाल पक्षका घनश्याम भुसाल,  सुरेन्द्र पाण्डे,  योगश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे छन्। एकताको पक्षमा निरन्तर पहल गर्ने नेताहरूका भावना र सुझावलाई ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न, एकतालाई रक्षा एवं सुदृढ गर्न प्रस्ताव गरेको ओलीले जनाएका छन्।

एकताको पहलमा रहेका नेता योगेश भट्टराईले अध्यक्ष ओलीले एमालेको एकताका लागि गरेको आह्वान सकारात्मक रहेको बताएका छन्। ‘कार्यदलस्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ। पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयहरूलाई समाधान गर्नेछ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्षमा पुग्नु उपयुक्त हुनेछ। सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षूण राख्न मद्दत पुग्ने अपेक्षा गर्छु।

(हेर्नुहोस् प्रधानमन्त्रीका प्रतिबद्धता)

May be an image of text No photo description available.

प्रतिक्रिया