वडाध्यक्षद्वारा बालकलाई हातखुट्टा बाँधेर कुटपिट

वडाध्यक्षद्वारा बालकलाई  हातखुट्टा बाँधेर कुटपिट

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाँउपालिका २ मा सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता ) वितरण गर्ने क्रममा एक बालकले जाँड खाएर गाली गलौज गर्दै ढुङ्गा प्रहार गर्न थालेपछि वडाध्यक्षको नेतृत्वमा ती बालकलाई कुटपिट गरेको घटना बाहिरिएको छ।

वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली सहितका केही महिलाले स्थानीय रंगे दमाईका १५ वर्षीय छोरा सर्पे दमाईलाई हातखुट्टा बाँधेर अमानवीय व्यवहार सहित कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि घटना सार्वजनिक भएको हो।

गत साउन १५ गते भएको सो घटनामा ती बालकले रुँदै कराउँदै यसो नगर्न हारगुहार गरेका छन्। कतिपयले यस्ता मुर्खसँग लागेर हुन्छ भन्दै केही नगर्न आग्रह गरे पनि वडाध्यक्षले बालकलाई हातखुट्टा बाँधेर पुलिसलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय पञ्चालाबाट गएको प्रहरीले बालकलाई सम्झाइबुझाई छोडिदिएको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्दा पाण्डेले बताए। उनले आफूलाई प्रहरीले कुटाई खाने व्यक्तिको उमेर २२ वर्ष भनेर रिपोटिङ्ग भएको बताए।

घटना अमानवीय भएको लागेपछि यस सम्बन्धमा विस्तृत बुझ्नका लागि पुनः टोली खटाएको पाण्डेले बताए। घटना सार्वजनिक भएपछि अधिकारकर्मीले अमानवीय तरिकाले गरिएको कुटपिटको विरोध गरेका छन्।अन्नपूर्ण पोस्ट्बाट ।

प्रतिक्रिया