एसईईको नतिजा प्रकाशित

एसईईको नतिजा प्रकाशित

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४ सय ४४ छ । गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरूले ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका थिए । जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६ र २०७४ मा ७४ जनाले मात्रै ४ जीपीए पाएका थिए ।

विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन । बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित ‘एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो । तर, विद्यालयहरूले कार्यविधिविपरीत पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ । कार्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था थियो ।

तर, बोर्डले विद्यालयले पठाएकै नम्बरलाई मान्यता दिएको नतिजाबाट पुष्टि भएको छ । विद्यालयले बढाएर नम्बर दिएपछि त्यसलाई ढाकछोप गर्न बोर्डले यस वर्ष कति विद्यार्थीले कुन–कुन जीपीए प्राप्त गरे भन्नेलगायत तथ्यांक सार्वजनिक गरेन । ‘विशेषगरी सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई प्रायः ४ जीपीए दिएको पाइयो,’ शिक्षा विकास तथा समन्वय इकाइका एक प्रमुखले भने ।

बोर्डका एक सदस्यले यसपटक पनि विद्यालयहरूले मनपरी नम्बर दिएको बताए । ‘कार्यविधि कसिलो बनाएपछि सामुदायिक विद्यालयले मनपरी अंक दिने प्रवृत्तिमा अलि सुधार गरेछन्,’ उनले भने, ‘निजी विद्यालयले भने गत वर्षजस्तै बढाएर नम्बर दिएका छन् ।’ कोरोना महामारीका कारण गत वर्षदेखि बोर्डले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गर्न थालेको हो ।

प्रतिक्रिया