शैक्षिक सिकाई गुणस्तर सुधार हुन सकेन

शैक्षिक सिकाई गुणस्तर सुधार हुन सकेन

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले विद्यालयको संख्या बढे जति शैक्षिक सिकाई गुणस्तर सुधार हुन नसकेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखले आज गैंडाबाजमा आयोजना गरेको ‘अन्तरराष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उनले सो विचार राखेको हुन् ।

अध्यक्ष शाहीले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले प्रयाप्त बजेट परिचालन गरेको त्यस अनुसार विद्यार्थीहरुको सिकाई स्तर सुधार गर्न सबै शिक्षकहरु इमान्दार भएर लाग्नुपर्ने सुझाव दिए ।


‘अन्तरराष्ट्रिय शिक्षक दिवस’ कार्यक्रमको अवसरमा सेवा निबृत शिक्षकहरु सिंहबहादुर बोगटी, अम्मरबहादुर थापा र जयन्ती मावि खरिगैराकी प्रधानाध्यापक सरिता गुरुङ्गलाई खादा र टीका लगाएर गाउँपालिका अध्यक्ष शाहीले सम्मान गरे ।
सम्मान ग्रहण गरेपछि पूर्वशिक्षक सिंहबहादुर बोकटीले शिक्षक समाज परिवर्तनका बाहक भएको तर पछिल्लो समय केही शिक्षकहरु आफैमा व्यवहार सुधार गर्न नसकेको कारण सबै शिक्षकहरुको सम्मान हराएको टिप्पणी गरे ।
‘विद्यालय संख्या कम भएको बेला टाढाबाट पनि पढ्न आउने बालबालिकाहरु पनि मेहनत गर्थे, हामी पनि सिकाउन दत्तचित्तसंग गर्दथ्यौं अनि पढाई राम्रै थियो । त्यसबेला पढेकाहरु राज्य विभिन्न निकायहरुमा योगदान गरिरहेकोले पनि पुष्टी गर्छ’ उनले प्रष्ट्याए ।


पूर्व शिक्षक बोगटीले ‘युद्धकाल र यस्ता धेरै समस्यासंग जुधेर उतिबेला गरेको दुःख आफैले पढाएको व्यक्तिहरु उच्च पदमा पुगेका र राम्रै गरिरहेका देखेर सन्तोष लाग्छ । त्यस माथि आज सम्मान पाउँदा धेरै खुशी लागेको छ ।’
जयन्ती मावि खरिगैराकी प्रधानाध्यापक सरिता गुरुङ्गले शिक्षकहरुलाई वर्तमान समय अनुसार सूचना प्रविधिको सीप विकास गर्न तालिमको जरुरी रहेको औल्याइन् । ‘आफले जाने पो नयाँ प्रविधि अनुुसार बालबालिकालाई सिकाउन सकिन्छ’ प्रधानाध्यापक सरिता गुरुङ्गले प्रष्ट्याइन् ।
राहत शिक्षक संघर्ष समितिका जिल्ला अध्यक्ष रामबहादुर बुढाले शिक्षा ऐनले बाधा नहाले पनि स्थानीय सरकारले पूर्वाग्रह साधेर बरिष्ठता हुँदा पनि राहत शिक्षकलाई प्रधानाध्यापक नदिएको गुनासो गरे । देशभरको यो समस्याले शिक्षकहरुको मनोबल घटाएको टिप्पणी गरे ।
यस्तै, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला सदस्य पत्रकार अमर सुनारले शिक्षकहरुको सम्मान अभिबृद्धि गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले दैलेख जिल्लामै पहिलो पटक गैंडाबाजमा शिक्षक क्षे दिवस मनाएको बताए ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखका सहसंयोजक भरतराज अधिकारीको अध्यक्षता भएको ‘अन्तरराष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा महाबु गाउँपालिकाको शिक्षा विकास, युवा तथा खेलकूद शाखाका प्रमुख कृष्ण ओली र गैंडावाज मावि रानीवनको बाल क्लवका अध्यक्ष नवराज बुढाले बोलेका थिए ।
त्यसबखत जयन्ती मावि खरिगैराका शिक्षक दुर्गाप्रसाद उपाध्यायले शिक्षक दिवसको महत्व, शिक्षकको दायित्व, योगदान र शिक्षकलाई कर्मथलोमा निर्भयपूर्वक काम गर्न सक्ने वातावरणको आवश्यकता विषयमा देउडा गीत प्रस्तूत गरेका थिए ।
हरेक वर्ष अक्टोवर ५ तारिकका दिन मनाइने ‘अन्तरराष्ट्रिय शिक्षक दिवस’ दैलेखमा पहिलो पटक मनाइए पनि अन्तराष्ट्रिय स्तरमा चाहिं १९९४ देखि मनाउन थालिएको हो । अन्तरराष्ट्रिय श्रम संगठनको स्थापना दिवसको अवसरलाई यो दिवसको रुपमा मनाउन राष्ट्र संघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठनले प्रस्ताव गरेको हो । यो वर्षको दिवसको नारा ‘शिक्षकहरु शैक्षिक क्षति परिपूरण गर्न मुटुमा छन्’ भन्ने तय गरिएको छ । 

प्रतिक्रिया