आजबाट मौसममा सुधार हुन्छ : मौसमविद्

आजबाट मौसममा सुधार हुन्छ : मौसमविद्

काठमाडाैं : आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् । ‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’

पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभाव भएको उनले बताए । अहिले एक-दुई ठाउँमा सामान्य वर्षा भइरहे पनि त्यो वर्षा स्थानीयस्तरमा मात्रै भएको उनको भनाइ छ । उनले भने, ‘आजबाट मौसममा सुधार आउँछ भनेर बुझ्नुपर्छ ।’ अर्का मौसमविद् समिर श्रेष्ठले आजबाट मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा भने नहुने बताए । ‘एक-दुई ठाउँमा थोरै पानी पर्ने सम्भावना कायमै रहेकाले पूर्ण सुक्खा भने हुँदैन’ मौसमविद श्रेष्ठले भने, ‘तर अब ठूलो पानी पर्ने सम्भावना भने छैन ।’

नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । पानी पार्ने सो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको थियो । सो प्रणालीका कारण देशभर बाढी र पहिरो आउँदा ठूलो जनधनको क्षति भएको छ ।

 

प्रतिक्रिया