विद्यालय पठाउनु अघि आकाश हेर्छन् अभिभावक

विद्यालय पठाउनु अघि आकाश हेर्छन् अभिभावक

ललितपुर – हरेक विहान, छोरीलाई विद्यालय पठाउने तयारी गर्दै गर्दा हरी माया मगरका हात छोरीको ड्रेस लगाउन ब्यस्त भए पनि आँखा भने आकाश तिरै हुन्छन् । कक्षा कोठामै पहिरो आएर २ नानीहरुको निधन भएको खबर सुनेको दिन देखि हो, उनका आखाँले आकाश ताकिरहेका !

cloudकुसुन्तिमा डेरा गरी बसेकी मगरकी छोरी पढ्ने विद्यालयको वरीपरी त्यस्तो डरलाग्दो संरचना त छैन, तै पनि मनमा कता कता डरले गाँजिरहेको छ उनलाई । ‘छोरीकै स्कुल त त्यस्तो डरलाग्दो छैन, तर विपत्ति कहाँ कतिखेर आउँछ भन्ने के थाह हुँदो रैछ र !’ उनको शंका छ, ‘गत बर्षको त्यत्रो ठूलो भूकम्पले विद्यालयको जग नै हल्लाएको होला, झरीका बेला झन् कमजोर हुदोँ हो, त्यसैले पानी परेपछि त मलाई साह्रै डर लाग्छ !’

यो डर र शंकाले भूकम्प अति प्रभावित १४ जिल्लाका हरेक अभिभावकका मनमा यसैगरी डेरा जमाएको छ । उपत्यका लगायत भूकम्प अति प्रभावित १४ जिल्लाका विद्यालय भवन र पर्खाल सुरक्षित छैनन् । भुकम्पले हल्लाएको जग र चर्किएका भवन टालटुल गरेर सञ्चालन गरिएका विद्यालय बर्खायाममा अति वर्षाका कारण भत्किन सक्ने संभावना छ ।

भुकम्पका कारण के सामुदायिक के निजी हरेक विद्यालय भवनको जग, भित्ता र देवल हल्लिएर कमजोर भएका छन् । यस्तै कमजोर संरचनामा एक बर्खा काट्दा समेत उचित तरिकाबाट रेट्रोफिटिङ वा पुर्ननिर्माण नगरिएकोले विद्यालय असुरक्षित देखिएका छन्, अभिभावकको मनमा ढ्याङ्ग्रो उसैगरी ठोकिरहेको छ ।

यो क्रम पुञ्पाञ्जली घटना पछि झन् बढेको छ । बर्खायामको  पछिल्ला दिनमा जस्तै लगातार पानी परिरहने हो भने राजधानी लगयातका भुकम्प प्रभावित जिल्लाका विद्यालय र तीनका पर्खाल ढलेर दुर्घटना हुनसक्ने संभावना बढेर गएको छ । जल तथा मौसम विभागका अनुसार उपत्यका लगायत नेपाल भर अझै केही दिन मनुसुन सक्रिय रहने छ । उपत्यका सहित प्रभावित क्षेत्रमा तुलनात्मक रुपमा यस वर्ष धेरै बर्षा भएको छ ।

गत वर्षको भुकम्प पछि जिल्ला शिक्षा कार्यलयहरुले प्राविधिकको टोली स्थलगत अवलोकनमा खटाएर सुरक्षित विद्यालयलाई हरियो र हल्लिएका वा चर्किएका भवन संरचना भएका स्कुललाई असुरक्षित भएको भन्दै रातो स्टीकर टाँसेको थियो । रातो स्टीकर दिएका विद्यालयहरुले पनि भुकम्पको परकम्प कम हुदै गए पछि सामान्य मर्मत संभार गरेर तीनै संरचनामा अध्ययन अध्यापन गर्दै आएका छन् ।
प्राविधिक टोलीले असुरक्षित ठहर गर्दै रातो स्टीकर दिएका विद्यालय संरचनाको अवस्था कस्तो छ ? ती संरचनाका उपयोग गरिएका छन् वा छैनन् भनेर त्यस पछि  भुकम्प प्रभावित जिल्लामा सम्वन्धित शिक्षा कार्यलयहरुले अनुगमन गर्न ध्यान दिएका छैनन् ।

शहरी क्षेत्रका विद्यालय संचालक वा शिक्षा कार्यलयहरुले विद्यालय क्षेत्र नजिक रहेका अग्ला भौतिक संरचना के कस्ता अवस्थामा छन् भन्ने कुरालाई ध्यान दिन नसकेको पाइएको छ । त्यसैको पछिल्ले उदाहरण हो, शुक्रबार टौखेल स्थित पुष्पाञ्जली स्कुल नजिकको पर्खाल भत्किएर भएको र्दुघटना ।

राजधानीका अधिकाँश निजी स्कुल भाडाका घरमा छन् । उपत्यकाका करिब ११ सय निजी विद्यालय मध्ये करिब ८ सय विद्यालय भाडाका घरमा छन् । ती मध्ये अधिकाँश घरको अवस्था कमजोर भए पनि त्यसतर्फ विद्यालय संचालकहरुले ध्यान दिन सकेका छैनन् । ती मध्ये अधिकाँश भवन पनि भवन निर्माण संहिताको पूर्ण पालना नगरी बनाईका छन् ।

मौसम विभागले भने अनुसार अझै पानी पर्ने क्रम जारी रहने हो भने ती मध्ये केही विद्यालय संचालन भएका घर र त्यस वरीपरी रहेका अग्ला पर्खाल भत्किन सक्ने अवस्थाका छन् । त्यस्ता संरचनाको अवस्थाका बारेमा जाँच हुन आवश्यक छ । प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले भुकम्प पछि अधिकाँश विद्यालय संचालनमा केही कठिनाई आएको बताए । भुकम्पका कारण करिब ३ सय निजी विद्यालयको संरचना ध्वस्त र क्षति पुगेको भए पनि सरकारको सहयोग नपाउदा सञ्चालनमा केही कठिन भएको उनको भनाई छ ।

सरकारसँग त्यस्ता संरचना पुन निर्माण गर्न सहुलियत ऋणको माग गरेपनि सुनुवाई नभएको उनको गुनासो छ । आफ्नै खर्चमा भत्किएका संरचना निर्माण गर्नुपर्ने भएकाले केही  ढिलाई हुन गएको भन्दै उनले पुष्पाञ्जली घटनालाई सबै विद्यालयको अवस्थासँग जोडेर हेर्न नमिल्ने तर्क गरे ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय गएका विद्यालर्थीको सुरक्षा पहिलो प्राथमिकता भएको बताए । सम्वन्धित निकायले भुकम्पले कमजोर बनाएका विद्यालय भवन संरचनामा  ध्यान दिन आवश्यक छ । सरकारी हुन वा निजी विद्यालयको संरचनामा ध्यान दिएर सर्तकता र सचेतता अपनाउन नसके भविष्यमा पुष्पाञ्जली प्रकृतीका र्दुघटना दोहरिन सक्ने उनको भनाई छ ।

रातो स्टीकर टाँसिएका विद्यालयहरुलाई तुरुन्त स्थानान्तरण वा वैकल्पिक व्यवस्था गरेर अभिभावकको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न ध्यान दिईओस् भन्ने उनको माग छ । ‘पुष्पाञ्जलीको अवस्थालाई  ‘प्रि फ्याक’ भनिदो रहेछ, जोखिम युक्त अवस्थामा सञ्चालित विद्यालयहरुका बारेमा जिल्ला शिक्षा कार्यलयहरु संवेदनशिल भएर विद्यार्थीको सुरक्षाका बारेमा सर्तकता अपनाउन आवश्यक छ’ भण्डारीले भने, ‘पुष्पाञ्जली घटना पछि  अभिभावक लागि सन्त्रास उत्पन्न भएको छ ।’

साभार ः इडु खवर

प्रतिक्रिया