निर्मला हत्या प्रकरण : भारतीय नागरिक पक्राउ
काठमाडौं : निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ ।भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् ।
प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको थियो ।
अलि थरका ती युवालाई प्रहरीले पहिलेदेखि नै खोजी जारी राखेको जनाएको छ । उनी पनि एक शंकास्पद हुन् । पक्राउ परेका उनको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ । यसअघि विभिन्न व्यक्तिको बयानका आधारमा ती युवा निर्मलासँग नजिक रहेको र कहिलेकाहिँ जिस्क्याउने गरेको पाइएको ती प्रहरी अधिकारीले जानकारी दिए ।
‘अलि पहिलेदेखि नै हाम्रो शंकाको घेरामा थिए,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘घटनालगत्तै उनी भारत गएका थिए । अहिले नेपाल आएपछि हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ, अनुसन्धान जारी छ ।’ baahrakhari.com
प्रतिक्रिया