पहिलो पटक महिनावारी हुँदा केक काटेर ‘सेलिब्रेसन’
पोखरा : खेल्दै कुद्दै गरेकी प्रदिष्णा सुवेदी (११) लाई पुस २९ गते अचानक ढाड दुखेजस्तो भयो । शरीरमा अचानक केही फेरबदलको महसुस हुन थालेपछि वासरुम गइन् । त्यहाँ पुगिसकेपछि थाहा भयो, उनलाई मासिक श्राव (महिनावारी) भएको रहेछ । त्यतिबेला साँझ करिब ५ बजेको थियो । पाँच कक्षामा पढ्दै गरेकी प्रदिष्णाको त्यो पहिलो मासिकश्राव अनुभव थियो । आफूलाई ‘पिरियड’ हुन सुरु भएको सुनाउन उनी आमा कोपिला भण्डारी कहाँ पुगिन् र भनिन्, ‘मलाई पिरियड भयो ।’
त्यसपछि कोपिलाले सेनिटरी प्याडसहितको बन्दोबस्त गरिदिइन् । छोरीको महिनावारी खुसीमा परिवार सामेल मात्रै भएनन् । साथीभाइ जम्मा भएर ‘सेलिब्रेसन’ नै चल्यो । त्यही दिन साँझ प्रदिष्णाको नाममा केक आइपुग्यो । त्यहाँ लेखिएको थियो, ‘ह्याप्पी फस्ट पिरियड माई बेबी !’
पोखरा विरौटाकी प्रदिष्णालाई त्यो क्षण वास्तवमै खुसीको दिन थियो । ‘यसै पनि केक मलाई खुब मन पर्छ । मेरो फर्स्ट पिरियडमै केक ल्याएर सेलिब्रेसन गरिदिए पछि झनै खुुसी भएँ,’ उनी भन्छिन् । ‘फर्स्ट पिरियड’ सेलिब्रेसनमा साथ दिन साथी पनि आउँदा उनको खुसी झनै दोब्बर बढ्यो । प्रदिष्णाले महिनावारी हुँदा छोइछिटो चलेको त्यसअघि सुनेकी मात्रै थिइनन्, देखेकै थिइन् । महिनावारी भएकोबेला कसैलाई भान्सामा छिर्नै नदिएको, नजिक पर्नै नदिएको उनको आँखा अगाडिकै घटनाहरु थिए ।
तर प्रदिष्णा ती डरबाट पहिले नै मुक्त थिइन् । ‘मलाई पहिले नै मम्मीले (महिनावारीबारे) भनिराख्नु भएको थियो, त्यस्तो केही भयो भने मलाई भन् है,’ प्रदिष्णा सुनाउँछिन्, ‘पहिलो दिन अलि धेरै ढाड दुखेको थियो । त्यसबाहेक अरु दुःख भएन ।’ अन्य दिन झैं उनी भान्सा गइन्, बसिन्, खाइन् ।
आमा भन्छिन्- अन्धविश्वास चिर्न सेलिब्रेट गर्यौं
पोखरामा सामान्य व्यवसाय गर्दै आइरहेका प्रदिष्णाकी आमा कोपिला भण्डारीले आफ्नो पहिलो महिनावारीको बेला साह्रै दुःख पाएकी थिइन् । अहिलेजस्तो स्यानिटरी प्याड त्योबेला सहज पाइँदैनथ्यो । लुगाफाटाकै भरमा मासिकश्राव पार गर्नुपर्थ्यो । कोपिलालाई सधैं लागिरह्यो, ‘मैले जस्तो दुःख छोरीले नपाओस् । महिनावारी छोरीको मानसिक तनावको कारण नबनोस् ।’ उमेर पुग्दै गएपछि उनले छोरीलाई ‘महिनावारी सामान्य हो, लुक्नु, डराउनु पर्दैन’ भनेर बताइरहन्थिन्, सुनाइरहिन्थन् । प्रदिष्णा घरकी पहिलो छोरी पनि हुन् ।
‘मेरो पालामा महिनावारी भयो भने लुक्नुपर्थ्यो। जति पीडा भए पनि सुनाउने र सुन्ने कोही हुन्थेनन् । ६/७ दिन लुकेर बस्नुपर्थ्यो,’ कोपिला भन्छिन्, ‘मैले भोगेको पीडा छोरीले नभोगोस् भनेर सचेत थिएँ । यसबारे भनिरहन्थें । छोरीले आफूलाई पिरियड भएको भनेपछि हामी पनि खुसी भयौं ।’
छोरीको पहिलो मासिकश्राव भएको थाहा पाएपछि कोपिलाले आफ्नो बहिनीसँग सल्लाह गरिन् । परिवार पनि उनको योजनामा सामेल बने । उत्सव चल्यो । आफूहरुले छोरीको पहिलो मासिकश्रावलाई देखाउनका लागि मात्रै उत्सवका रुपमा नमनाएको कोपिला सुनाउँछिन् ।
‘महिनावारीको बेला किचेनमा पनि जान नदिने छ । मन लागेको खानै नपाउने मात्रै होइन, तीर्खा लाग्दासमेत पानी पिउनसमेत नपाउने छ,’ भन्छिन्, ‘हामीले छोरीलाई किचेन पनि रोकेनौं, मन लागेको खान पनि रोकेनौं । देखाउन मात्रै सेलिब्रेसन गरेका होइनौं ।’
मासिक श्राव भएको बेला अरु बेलाभन्दा बढी साथ चाहिने भन्दै उनी भन्छन्, ‘मुख्य कुरा हाइजिन मेन्टेन हो । सफासुग्घर भएमात्रै पनि धेरै थोक राम्रो हुन्छ । यतिबेला चाहिने भनेकै हाम्रो साथ, सहयोग हो ।’ प्रदिष्णाले पहिलो पिरियड सेलिब्रेसन गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ । प्रतिक्रियाहरु मिश्रित छन्, कसैले राम्रो भनेका छन् त कसैले ‘देखावटी’ । आमा कोपिला भन्छिन्, ‘त्यो मान्छेहरुको सोचमा भर पर्ने कुरा हो । तर, हामीले यो समाजको अन्धविश्वास हटाउन सेलिब्रेट गरेका हौं ।’ स्राेत अनलाइनखबर
प्रतिक्रिया