महिलालाई आत्मनिर्भर बनाउन जरुरी

महिलालाई आत्मनिर्भर बनाउन जरुरी

अन्तरराष्ट्रिय महिला दिवस विशेष

दैलेख : नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले महिला माथि हुने सबै खाले हिंसा रोकथाम गर्न, आत्मनिर्भर बनाउन सीप र क्षमताको विकास गर्नुपर्ने बताएका छन् । ११२ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित खुलामञ्चको कार्यक्रममा उनले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरता अभिबृद्धिका निम्ति सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको तर ती कार्यक्रमहरुको उचित सदुपयोग हुनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा नेपाल काँग्रेसका महाधिवेसन प्रतिनिधि मीना थापाले महिला तथा पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायका निम्ति संघ, प्रदेश र स्थानीय सरकारले ठोस कार्यक्रमहरु ल्याउन नसकेको टिप्पणी गरिन् । थापाले महिला लक्षित कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैनन् भन्ने कुरा अन्तरराष्ट्रिय महिला दिवसमा न्यून उपस्थितिले पनि प्रष्ट्याएको औल्याइन् ।

सोहि अबसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले पठाएको सन्देश सुनाइएको थियो । ‘महिला मुक्तिका लागि स्वयम् महिलाहरुको अग्रसरता जरुरी रहेको उनले पठाएको सन्देशमा उल्लेख छ । महिला नेतृ सरस्वती श्रेष्ठले स्थानीय सरकार आएपछि बढाउदै लग्नुपर्नेमा महिला तथा लक्षित वर्गका बजेट कार्यक्रम कटौती गरिएकोमा आपत्ति जनाइन् ।

जनता आधारभूत विद्यालय जाहरकोटकी प्रधाध्यापक मेनुका गौतमले महिलाहरुको सशक्तिकरण बढ्दै गए पनि पछाडि पारिएका महिलाहरुले लाभ लिन नसकेका बताइन् । नारायण नगरपालिका–७ का वडासदस्य निर्मला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघका कार्यवहाक सभापति दुर्गा श्रेष्ठ, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरी, अधिकारकर्मी रमा श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रम स्थलमा पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले बाल विवाह रोकथाम सम्वन्धी सडक नाटक प्रर्दशन गर्नुसंगै मिसा दय दवुका बाल कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए । यसैबीच नेपाल परिवार नियोजन संघको आयोजनामा भएको म्यूजिकल चियर प्रतियोगितामा नारायण नगरपालिका कानून अधिकृत पूजा खड्का प्रथम भएर सात सय रुपैंयाँ पुरस्कार जितेकी छिन् । प्रतियोगितामा शर्मिला रावल द्धितीय, शर्मिला देवकोटा तृतीय र रेचल थापाले सान्त्वना स्थान हासिल गरी नगद पुरस्कार जितेका थिए ।

सदरमुकामको गणेशचोकबाट नारा, प्लेकार्ड सहितको जुलुसले नयाँबजार, देवकोटाचोक, पुरानोबजार हुँदै नगर परिक्रमापछि सभामा परिणत भएको थियो । नारायण नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, इन्सेक, सुन्दर नेपाल संस्था, सीवीओ महासंघ, एभरेष्ट क्लव, सीएमसी, महिला सशक्तिकरण मञ्च, नेपाल परिवार नियोजन संघ लगायतको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । सन् १९०९ मा संयुक्त राष्ट्र सङ्घको निर्णय अनुसार सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा थालिएको हो ।

प्रतिक्रिया