जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला : जुम्ला रारा अल्ट्रा म्याराथन सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शनिबार बिहान म्याराथनको उद्घाटन गरेका हुन् । खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवर्द्धनका लागि म्याराथनको आयोजना गरिएको हो । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया संरक्षकत्वमा स्थापित कर्णाली स्पोट्स क्लव जुम्लाले आयोजना गरेको म्याराथनमा नेपालका १० जिल्लासहित एक भारतीय खेलाडी गरेर ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट म्याराथन शुरु भएको हो । म्याराथन रारातालसम्म पुगेर सकिने छ ।

जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने धेययले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ । म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । द्वितियले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ६ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । जुम्ला देखि रारातालसम्म पाँचवटा चेक प्वाइन्ट रहेका छन् ।

म्याराथनको सुरुवाती प्वाइन्ट खलंगा बजार रहेको छ । क्रमश : डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलिचौर हुँदै राराताल सम्मको रुट तय भएको छ । म्याराथन सुरु हुनुपूर्व जुम्लामा पञ्चेवाजा र हुड्के नाच देखाइएको थियो । धावक हरिबहादुर रोकायाले कर्णाली खेलकुदको पर्याप्त सम्भावना बोकेको क्षेत्र भएको बताउँदै कर्णालीको खेल क्षेत्र प्रवर्द्धनको लागि कर्णाली सरकार गम्भीर हुनु पर्ने बताए । म्याराथन हेर्नको लागि हजारौंको संख्यामा सहभागी छन् । म्याराथन पूर्वम्याराथनको रुटबारे प्रशिक्षण दिँदै खेलाडीको स्वास्थ्य जाँच समेत गरिएको थियो ।

यहाँ म्याराथनसँगै पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको छ । त्यसमा दुई सय ५० जना भन्दा बढीले भाग लिएका छन् ।

प्रतिक्रिया