पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान

पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान

पोखरा : अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी छन् ।

नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि उनले बयान फेरेकी हुन् । अदालत समक्ष उनले शाहले आफूलाई करणी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उक्साहटमा जाहेरी दिएको बताएकी छन् ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ । बालिकाला बुवा आमा लगायतको बकपत्र भने बाँकी छ । बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ । पीडितहरुले दबाबमा परेर बिगतमा पनि अदालतमा बयान फेरेका घटना छन् । अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छिनोफानोमा मूल प्रमाण मान्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।

प्रतिक्रिया