बालबालिकासँग गलत व्यवहार गरिरहेका त छैनौँ ?
सुशिला नेपाल
परिवार यस्तो ठाउँ हो जहाँ बालबालिकाहरू स्वतन्त्र र अरुको भरोसामा आफ्ना क्रियाकलापहरू देखाउँदछन्। परिवार तथा अभिभावक नै बालबालिकाको असल व्यवहार निमार्ण गर्न र उसको व्यक्तित्व विकास गराउन अहम् भूमिका हुन्छ।
हामी बालबालिकालाई ढंग नभएको, न बोल्न आउँछ न दिमाग छ, के गरी खान्छ/खान्छे वा बेकार पाएछु भनी गाली गलौज गर्छौं। यस्तो गाली गर्दा हामीले सोच्नु पर्ने कुरा, काम गर्दैगर्दा कसैले हामीलाई यस्ता शब्द वा गाली गरे भने मन र दिमागमा कस्ता विचार आउँछ? विचार गरौँ त, यी शब्द चयनले बालबालिकाको सोच्ने र कार्य गर्ने क्षमता मा ह्रास आउँदछ।
बालबालिकालाई बालबालिकाकै रुपमा व्यवहार गरी उनीहरूको असल बानी निर्माणमा हाम्रो आचरण, बोली, अरुलाई दिइरहेको सम्मान र सकरात्मक या नकरात्मक सोचका आधारमा नै बालबालिका सोही व्यवहार निमार्ण गर्ने हुनाले वयस्क अवस्थामा बाल्यकालका घटनाले जीवनभर प्रभाव पादर्छ।
त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई उसका रुचि र आवश्यता र कहिलेकाहीँ अभावको सामना गर्न पनि सिकाउनु पर्दछ। जस्तै- बालबालिकाले आफ्नो क्षमताभन्दा बढी चाहना गर्दा हामी खोजी-खोजी पुर्याउने कोसिस गर्छौं तर सधैँ एकनास हुँदैन। त्यसैले म सँगसँगै अहिले या पछि कुनै दिन तिम्रा चाहना पूरा गरुँला भनी सम्झाउने, छलफल गर्दा पछि परिवारका समस्याहरू मिलेर समाधान गर्ने बानीको विकास हुन्छ।
हामीले समकालीन समाजमा देखिएका हरेक चुनौतीलाई सामना गर्न सकेको छैनौँ। जस्तै- ६ महिनाको बच्चादेखि वृद्धासमेत बलात्कारको शिकार भएका छन्। कारण खोज्ने कोसिस गरिएन भने पछिल्लो केही वर्षमा झन् पीडादायी समाचार हाम्रो कानमा पर्न सक्छ।
त्यसको लागि अभिभावकले समयमा नै आफ्ना बालबालिकालाई सकारात्मक वातावरण र उनीहरूको असल व्यवहार निमार्णका लागि ठूलो हात हुन्छ। आज बालबालिकालाई हाम्रो साथ चाहिएको छ। हामी पैसाको पछि धेरै र बालबालिकाको स्याहारका लागि कम र अरुलाई नै काम गर्न डाक्छौँ।
तर शिशुलाई गर्भदेखि नै हामीले बोलेका र गरेका व्यवहारले धेरै प्रभाव पार्छ। जन्मिएपछि ८ वर्षसम्म जस्तो बोली व्यवहार गर्यौं सोअनुसार नै उनीहरूको व्यवहार निमार्ण हुने गर्दछ। त्यसैले बालबालिका गर्भमा आउनु पहिलादेखि नै योजना बनाएर अगाडि ब्रनु पर्छ। शिशुको जन्मपश्चात अभिभावकले देखाउने व्यवहार आक्रमक भयो या अरुको कुरा काट्ने गर्यो भने त्यस्तै प्रभाव पर्छ।
भनिन्छ नि बाबुआमाको सकरात्मक वा नकरात्मक व्यवहारको अवलोकन गरी बालबालिकाले त्यहीअनुसार सीप सिकेको हुन्छ। त्यसैले बालबालिकाको सही दिशा निर्धारण गर्न उसलाई समय, माया र साथको हौसला तथा प्रेरणाको आवश्यक पर्दछ।
जति पनि सामाजिक या पारिवारिक समस्या देखिएको छन्, ती समस्या कम गराउन अभिभावक शिक्षा आजको आवश्यकता देखिएको छ जहाँ यौन शिक्षा, महिनावारी शिक्षा, पारिवारिक कलह र समस्या कसरी आउँछन् र कसरी समाधान गर्न सकिन्छ भनी उमेरअनुसार हरेक स्कुलको पाठयक्रम राखियोस्।
असल अभिभावकका गुण, गर्भावस्थाका समयमा परिवार सदस्यको दायित्व तथा भूमिका, उनीहरूको जिम्मेवारी विषयमा पाठ्यक्रममा राखियोस्। तब केही परिवर्तन विद्यार्थी अवस्थादेखि नै, केही जिम्मेवार दिन सकेमा समस्याहरू केही कम गर्न सकिन्छ कि?
असल बानी निमार्णका उपायहरू:
– पहिला आफ्ना कमजोरी के छन्, हटाउने कोसिस गरौँ।
– बालबालिकासँगै कम्तीमा पनि एक घण्टा खेल्ने गरौँ।
– समय-समयमा उसका कुरा सुन्ने र के मनपर्छ बुझ्ने र सोध्ने गर्नु पर्दछ
– बाहिरको खानाभन्दा घरकै स्वस्थ्य खानामा बल गर्नु पर्दछ।
– समय मिलाएर घुमाउन लैजाने र उसको रोजाइका रंगहरूको कपडा किनिदिने।
– सजिलो भाडा खान दिने, नम्र बोली र संस्कार बस्नु पर्दछ नभन्ने, बरु आफूले गरी देखाउने जस्तै- नमस्कार गर्न, सहयोग गर्न सकरात्मक बोली र व्यवहार गर्न
– बालबालिकाले गरेका हरेक क्रियाकलापलाई हौसला दिने जस्तै- चित्र बनाउँदा, खाना नपोखी खाँदा
– तुलना नगर्ने जस्तै- फलानोको बच्चा धेरै जान्ने छ, प्रथम हुन्छ, मेरो बच्चा दिमाग छैन, बेकार पाएछु तँलाई नभन्ने। यस्ता शब्दले बालबालिकाको मनोभावनामा चोट पुग्न सक्छ।
– कविता, कथा, गीतको माध्यमबाट राम्रा कुरा सिकाउने, सुनाउने।
– सँगै बसेर दिनभरि गरेका कार्य के-के हुन्, सुनिदिने।
– बालबालिकाको असल व्यवहार निमार्ण ८ वर्ष भित्रै हुने भएकाले यस अवधिमा अभिभावकले पौष्टिक आहार, सकरात्मक सोच जस्तै झूटो नबोल्ने समयको ख्याल गर्ने अरुलाई सहयोग गर्ने, माया, आदर, सम्मान गर्ने बानीको विकास गर्ने र आफूले गर्नसक्ने कामको जिम्मेवारी दिने जस्तै मोजा धुने, सामान ठिक ठाउँमा राख्ने आदि।
– उनीहरूसँगै बेलाबेला नाच्ने, गीत गाउने, कथा भन्ने, भन्न लगाउने, केही घुमेर आएपछि त्यसको बारे छलफल गर्ने गर्नुपर्दछ।
हामी जब बालबालिकाको लागि उचित समय, उमेरमा बालबालिकाको असल निमार्ण गर्न लागिपर्नु पर्दछ। किनकि जब बालबालिका किशोरावस्थामा पुग्दा मेरो कुरा सुनेन, मेरो भावना बुझ्दैन, बिरामी हुँदा पानी तताएर नि दिन्न, के छ कसो छ जिम्मेवारी केही लिन्न, साथीभाइसँग मिली लागुपदार्थ खान्छ या मनोसामाजिक समस्या छ, एक्लै बस्छ, केही बोल्दैन, समाजमा कोहीसँग बोल्दैन, मिल्दैन या मानसिक समस्या छ भन्ने भनाइहरू आजभोलि धेरै सुनिन्छ।
कारण एक मात्र नहोला तर अभिभावकको संरक्षण र माया, सहयोग नपाउँदा र परिवारले बालबालिकाको भावना नबुझिदिँदा यस्ता समस्याहरू आउँदछन्। त्यसैले अब केही सोचौँ, बालबालिकालाई कसरी असल र व्यवहारिक बनाउने र हाम्रो जिम्मेवारी थाहा छ तर माया गर्छु भनेर बुझ्न सक्दैनन्।
उनीहरूलाई महसुस गराउँदा बालबालिकाहरूलाई आफ्नो कोही छ भन्ने आशा र भरोसा हुन्छ। बालमैत्री वातावरण र बालबालिकाको भावनाको कदर गरी हरेक कार्य गर्नका साथै साथीको व्यवहार गरे उनीहरूले पनि आफ्ना हरेक कुराहरू भन्न सक्छन्। जसले गर्दा आउने चुनौतीलाई पहिला नै समाधान खोज्न सहज हुन्छ। सेताेपाटीबाट
प्रतिक्रिया