शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण

शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण

काठमाडौँ :  शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो ।

आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् । कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनैपर्छ । पहिलो चरणमै न्यून परीक्षार्थी उत्तीर्ण भएपछि केहीले परीक्षामा कडाइ भएको हुनाले यस्तो नतिजा आएको र अब विद्यालय तहमा क्षमतावान् शिक्षक आउँछन् भन्ने विश्लेषण गरेका छन् । भने शिक्षण पेसाप्रति नागरिकको रुचि घट्दै गएको हो कि भन्ने अनुमान पनि छ ।

आयोगले यसै पटकदेखि परीक्षाको पाठ्यक्रमसमेत परिवर्तन गरेर पहिलो चरणको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने नीतिगत व्यवस्था गरेको हो । मुलुकभर माध्यमिक तहका लागि सबै विषयसहित एक हजार ५५२ जना कोटाका लागि आवेदन आह्वान गरेको थियो । परीक्षामा ३२ हजार ९७ जना सहभागी भएका थिए । जसमध्ये तीन हजार ८८८ जना उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको करिब १२ प्रतिशत मात्रै हो ।

सबैभन्दा थोरै परीक्षार्थी मधेस प्रदेशमा उत्तीर्ण भएका छन् । मधेस प्रदेशमा सबै विषयसहित दुई हजार १५ जना परीक्षार्थी सहभागी भएकोमा १२० जना मात्रै उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशबाट एक हजार ४७३ जना सहभागी भएकोमा १९१ जना मात्रै उत्तीर्ण भएका छन् । प्रदेश १ बाट आठ हजार ७१ जना सहभागी भएकोमा ९८८ जना मात्रै उत्तीर्ण भएका छन ।

आयोगका अध्यक्ष मधु रेग्मीले विश्वविद्यालयबाट गुणस्तरीय जनशक्ति उत्पादन हुन नसक्दा यस्तो नतिजा आएको हुन सक्ने बताए । शिक्षा मन्त्रालयका पूर्वसचिवसमेत रहेका रेग्मीले– “पहिलो कुरा त समाजमा शिक्षक बन्नु भनेको सजिलो पेसा हो भन्ने गलत बुझाइ छ, दोस्रो कुरा अहिले शिक्षक पेसामा प्रतिस्पर्धा गर्न चाहनेहरू बजारमा धेरै पहिले शिक्षण लाइसेन्स लिएकाहरू हुनुहुन्छ । समयअनुसार परिवर्तन हुन सक्नुभएन, जसको प्रभाव अहिलेको परीक्षामा प¥यो ।” गाेरखापत्रबाट

प्रतिक्रिया