‘कुरुवा’ शिक्षकको व्यवस्था !

‘कुरुवा’ शिक्षकको व्यवस्था !

ललितपुर – शिक्षकको काम के हो ? पक्कै पनि विद्यार्थीलाई सिकाउने नै हो । तर ललितपुरका विद्यालयमा कार्यरत शिक्षकहरुमा यो परिभाषा नमिल्न पनि सक्छ ! किन भने सिकाउनका लागि विद्यार्थी नै नभए पछि उनीहरुलाई हिजो आज ‘कुरुवा शिक्षक’ भनेर चिनिन्छ ।

कम विद्यार्थी भएका विद्यालयहरुमा रहने शिक्षकलाई चिन्नका लागि जिल्ला शिक्षा कार्यालयका कर्मचारी यही कोड भाषामा कुरा गर्छन् ।  ‘विद्यार्थी नै नभएपछि उनीहरुले विद्यार्थी हैन विद्यालयको भौतिक संरचना कुरीरहेका छन्’ एक जना कर्मचारी भन्छन्, ‘कम विद्यार्थी भएका विद्यालयहरुमा कार्यरत केही शिक्षकहरुलाई अन्यत्र पठाइसकिएको छ, बाँकी रहेकाहरु विद्यालयको भौतिक सामग्री कुरेर बसेका छन् ।’

विद्यार्थी कम भएका थुप्रै विद्यालयहरुमध्ये २० भन्दा कमको संख्यामा विद्यार्थी रहेका जिल्लाका १७ विद्यालयका शिक्षकको काम विद्यार्थी पढाउनु भन्दा पनि विद्यालय कुर्नु नै हो ।

कुरुवा शिक्षक भएका त्यस्ता विद्यालयहरुमा कसरी विद्यार्थी संख्या बढाउने भन्ने उपाय ननिस्केको कारण त्यस्ता विद्यालय नै ‘घाँडो’ भएको कार्यालयका कर्मचारी बताउँछन् ।

त्यस्ता विद्यालयमा विद्यार्थी संख्या बढाउनका लागि जिशिकाले एक वर्षको समय दिएको उप जिशिअ महेन्द्रबहादुर क्षेत्रीले बताए । ‘कम विद्यार्थी भएका विद्यालयहरुलाई के गर्ने ? भन्ने विषमया केही टुंगो लाग्न सकेको छैन’ क्षेत्रीले भने, ‘तिनीहरुलाई कि त मर्ज गर्नुपर्ने देखिन्छ, नभएर बहुकक्षा शिक्षण गराउनुपर्ने देखिन्छ ।’

तर, कालेश्वर स्रोतकेन्द्र अन्तर्गतको जनजागृति प्राविका प्रधानाध्यापक पुरुषोत्तम घिमिरे भौगोलिक रुपमा विकट भएकोले हचुवाका भरमा विद्यालयहरु मर्ज गर्न नहुने बताउँछन् । ‘विद्यालयमा क्रमशः विद्यार्थीहरु घटिरेका छन्, तर विकट क्षेत्र भएकोले विद्यार्थीलाई पायक पर्ने छ छैन, भन्ने कुरा ख्याल गरेर मात्रै  विद्यालय समायोजन गर्ने प्रकृया शुरु गर्नु पर्छ’ उनले भने ‘हचुवाका भरमा गर्दा धेरै बालबालिका शिक्षाबाट बञ्चित हुने खतरा छ ।’

चापागाउँ स्रोतकेन्द्रको जयकुमारी प्राथमिक विद्यालयमा १४ जना विद्यार्थी छन् भने प्युटार स्रोत केन्द्रको नवज्योति प्राविमा १० जना । चापागाउँ स्रोतकेन्द्र र प्युटार स्रोतकेन्द्रका ती दुई प्राथमिक विद्यालयको अवस्था मात्रै हैन कालेश्वर स्रोत केन्द्र अन्तर्गतको जनजागृति प्रावि र नमूना प्राविको अवस्था झन् नाजुक छ । जनजागृतिमा ४ जना र नमूना प्राविमा ६ जनामात्र विद्यार्थी छन् ।

‘हामीकहाँ कूल ८१ वटा प्राथमिक विद्यालय छन्, ती मध्ये १७ वटा अर्थात् २१ प्रतिशतमा २० जना भन्दा कम मात्र विद्यार्थी छन् ।’ उप जिशिअ क्षेत्रीले भने ।

कार्यालयका अनुसार २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा कालेश्वर स्रोतकेन्द्रमा ४, गोटीखेल स्रोतकेन्द्रमा २, चापागाउँ र गोदावरी स्रोतकेन्द्रमा १ / १, प्युटार स्रोतकेन्द्रमा ४, भट्टेडाँडामा ३, भारदेउमा २ वटा विद्यालयहरु रहेका छन् ।

त्यसरी विद्यार्थी कम भएका विद्यालयहरुमा कालीदेवी प्राविका १९, सालघारीमा १५, तुलसादेवीमा १३, चुनदेवीमा ७, रिङ्गनमा ६, ओमशान्तिमा १८, धनडाँडामा १८, गढीभञ्ज्याङमा १७ विद्यार्थी छन् । त्यस्तै बाघभैरवमा १७, निलेश्वरीमा १०, स्याउरी भूमिमा १५, जनहीतमा ११, मनकामनामा १७ जना मात्र विद्यार्थी रहेका छन् ।

एडु खवरवाट सभार गरिएकाे ।

प्रतिक्रिया