राधा पौडेलको ‘खलंगामा हमला’माथि फिल्म बन्ने

राधा पौडेलको ‘खलंगामा हमला’माथि फिल्म बन्ने

काठमाडाैं : मदन पुरस्कार विजेता उपन्यास ‘खलंगामा हमला’माथि फिल्म बन्ने भएको छ । लेखक राधा पौडेल र फिल्म निर्देशक विनोद विष्टले उक्त पुस्तकमाथि फिल्म बनाउने घोषणा गरेका हुन् । राधा पौडेलद्वारा लिखित आत्मसंस्मरण ‘खलंगामा हमला’मा आधारित रहेर सोही नामको फिल्म निर्माण हुने भएको हाे । सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले जुम्ला सदरमुकाम खलंगामा आक्रमण गर्दा एक नर्सले भोगेको त्रासदीपूर्ण अनुभव त्यसमा समेटिएको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म निर्माण कम्पनी विष्ट ब्रदर्सले पुस्तकको फिल्म निर्माण अधिकार खरिद गर्यो । निर्देशक तथा निर्माता विनोद विष्टले यसै वर्षभित्र फिल्म निर्माण सुरु हुने बताए ।  यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’मा आधारित रहेर फिल्म बनाएका विष्टले यसपटक पनि पुस्तकमै आधारित प्रोजेक्ट रोजेका छन् ।

‘मलाई वास्तविक कथामा आधारित फिल्म मनपर्छ । पुस्तकमा लेखिएका कुरालाई सबैले जान्न जरुरी छ,’ निर्देशक विष्टले भने, ‘कसरी युद्धको त्रासदीमा एउटी नर्सले काम गर्न सक्छिन् भन्ने सन्देश यसले दिन्छ । यो प्रेरणादायी कथा हुनेछ ।’

लेखक पौडेलले बढीभन्दा बढी मानिससामु पुग्न आफूले फिल्मको प्लेटफर्मलाई रोजेको बताइन् । ‘खलंगा हमला हुँदा मैले कोठाभित्र बसेर त्यो अवस्था भोगेकी थिएँ,’ उनले भनिन् । माओवादीले २०५९ कात्तिक २८ गते खलंगा आक्रमण गरेलगत्तै पौडेलले पुस्तक लेखेकी थिइन् ।

उनले त्यहाँ सुरक्षित मातृत्व परियोजना व्यवस्थापकको रुपमा काम गरेकी थिइन् । फिल्मलाई खलंगा र उनको जन्मथलो चितवनमा छायांकन गरिने भएको छ । तीन करोड बजेट बताइएको फिल्मबारे चाँडै पत्रकार सम्मेलनमार्फत कलाकार र अन्य प्राविधिक पक्ष सार्वजनिक गरिने भएको छ ।

प्रतिक्रिया