दैलेख सरमुकाममा सीसीटीभीको निगरानी
ज्वाला सन्देश संवाददाता
भदौ १३ । दैलेख सदरमुकामलगायत मुख्य बजार क्षेत्रमा सीसीटीभी जडान गरिएको छ । सोमबार दैलेख बजारस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानीरिक्षक (डिआईजी) माधवप्रसाद नेपालले सीसीटीभीको उद्घाटन गरे ।
उद्योग वाणिज्य संघ दैलेख र प्रहरीको सहकार्यमा दैलेख बजारका विभिन्न चोक, चुप्रा, डुंगेश्वर र गुराँसेमा सीसीटीभी जडान गरिएको छ । विद्युतीय निगरानी सेवाको उद्घाटन गर्दै डिआईजी नेपालले अपराध नियन्त्रण गर्न यो सेवाले महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले सीसीटीभी जडान गरेरमात्र नहुने भन्दै यसको संरक्षण पनि हुनुपर्ने बताए । उनले भने, ‘नागरिक समाज, रानीतिक दल र प्रहरीबीच सहकार्य आवश्यक छ ।’ उनले प्रहरी एक्लैले काम गर्न नसक्ने भन्दै नागरिक समाजसँग सहकार्य गर्नुपर्ने बताए ।
फरक प्रसंगमा डिआईजी नेपालले जिल्लामा नयाँ आएका डिएसपी केदार रजौरेले राम्रो काम गर्न नसके फिर्त गर्नेसम्मको अधिकार आफूलाई भएको बताए । डिआईजी नेपालले डिएसपी रजौरे सक्षम प्रहरी अधिकृत रहेकोसमेत बताए । उनले आफू यस क्षेत्रमा लागु औशध नियन्त्रणमा अभियान बनाएर लागेकोसमेत बताए । लागुऔशध नियन्त्रणमा सफलता प्राप्त भइरहेको उनको दावी । भारतीय सीमावर्ती बजार नेपालगञ्ज हुँदै मध्यपश्चिममा लागुऔशध भित्रिने गरेको छ । प्रहरीले हालका दिनमा लागुऔशधविरुद्ध अभियान नै चलाएको छ ।
कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट बोल्दै नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले दैलेखमा स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलहरुबीच आपसी सहकार्यको संस्कार रहेको बताए । उनले राजनीतिक दल र प्रहरीबीच सहकार्य हुनुपर्नेमा उनको जोड थियो । अध्यक्ष शर्माले सीसीटीभी जडानले अपराधका घटनामा कमी आउने विश्वास व्यक्त गर्दै अपराध गरेर अपराधी फरार हुने जोखिम पनि कम हुने बताए । सदरमुकामका गणेश चोक, एनएमबी चोक, डेकेन्द्र चोक, देवकोटा चोक, लोकतान्त्रिक चोक र भगवती चोकमा सीसीटीभी जडान गरिएको छ । मानिसको धेरै चहलपहल हुनेस्थानमा सीसीटीभी जडान गरिएको हो ।
प्रतिक्रिया