वामदेव गौतमद्धारा आफ्नै नेतृत्वमा अलग पार्टीको अभ्यास

वामदेव गौतमद्धारा आफ्नै नेतृत्वमा अलग पार्टीको अभ्यास

काठमाडौं : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि कुनै समूहमा नलागेका नेता वामदेव गौतमले आफ्नै नेतृत्वमा अलग पार्टीको अभ्यास सुरु गरेका छन् ।

शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् ।

यो बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म पार्टी संरचना निर्माणको थालनी गर्ने गौतम निकट एक नेताले बताए । ‘धोबिघाटमै पदाधिकारी घोषणा गर्ने तयारी थियो । तर थप छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको हो’, ती नेताले भने ।

नेकपा विभाजित भएपछि १४ माघ २०७७ मा गौतमले ६५१ सदस्यीय नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । यो अभियानले विभाजित नेकपालाई फेरि जोड्ने गौतमको घोषणा थियो ।

तर सर्वोच्च अदालतले पार्टीको नाम विवादमा २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्रको एकता अस्वीकार गरेपछि नेकपाको अस्तित्व नै रहेन । २ भदौ ०७८ मा पुनर्स्थापित एमाले पनि विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो ।

एकपछि अर्को विभाजनको अवधिमा सक्रिय राजनीतिक गतिविधिमा नदेखिएका गौतमले अन्ततः आफ्नै नेतृत्वमा अलग पार्टी संरचनाको अभ्यास सुरु गरेका हुन् ।

अलग पार्टी नभने पनि गौतमले राजनीतिक प्रतिवेदनमै पार्टी संरचना बनाउने उल्लेख गरेका छन् । त्यसका निम्ति नेकपा एकता राष्ट्रिय अभियानको नाम बदलेर ‘पार्टी एकता राष्ट्रिय अभियान’ राखेका छन् ।

प्रतिक्रिया