साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौँ : अध्यक्ष ओली
फाइल तस्बीर
ललितपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निष्प्राण भइसकेकोले यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गरेका छन् ।
आज सोमवार सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले भने, ‘यही सरकार बोकेर हिँड्नु हुँदैन । यो सरकार निष्प्राण भइसक्यो, अब जति रह्यो त्यति समाजमा हैजा फैलाउँछ ।’ निष्प्राण भैसकेको गठबन्धन बोकेर हिँडेर काम नहुने उनले टिप्पणी गरे । ‘अब गठबन्धनको पनि सतीदेवीको जस्तो अङ्ग झर्दै जान्छ । अस्ति एउटा अङ्ग झर्यो । यसको अङ्ग झरेको ठाउँमा सतीदेवीको जस्तो कुनै पीठ बन्दैन । त्यसैले यो परमादेशी सरकारको कुनै अर्थ छैन’, ओलीले भने ।
ओलीले आफूहरूले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरे । एकछिन सत्तामा पुग्नकै लागि सबथोक गर्ने पक्षमा आफूहरू नभएको उनको भनाई थियो । ओलीले गठबन्धनलाई विवाहको संज्ञा दिँदै हरेक विवाह डिभोर्समा टुङ्गिने टिप्पणी समेत गरे । आफूहरूले पनि गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै ओलीले भने, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौँ ।’
ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलङ्काको जस्तो सङ्कटग्रस्त हुन सक्ने दाबी गरे । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता देखिएको र हतियार खरिदमा बजेट विनियोजन भएको जस्ता विषयले नेपाललाई श्रीलङ्काकै स्थितिमा पुर्याउन सक्ने टिप्पणी गरे । अहिलेको अधोगतिमा ब्रेक लगाइएन भने अवस्था त्योभन्दा उधो खस्न सक्ने ओलीको भनाइ छ ।
प्रतिक्रिया