पुराना झोलेको पतन, नयाँ झोलेको उदय
नेपाली शब्द कोषमा भएका हजारौ शब्दहरु मध्ये कुनै ऐतिहासिक समयमा कुनै विशेष शब्दहरुले अत्यधिक महत्व पाउने गरेका छन् । त्यस्ता शब्दहरुमा नेपाली शब्दकोष भित्र रहेका अपरिचित शब्दहरु हुन्छन् । कुनै नेपाली शब्दकोष, कुनै आगन्तुक र कुनै दैनिक बोलिचालिमा समेत प्रयोग गरिएका शब्दहरु हुन्छन । अहिलेको नयाँ पुस्ताले कुनै कुनै शब्दहरु यस्ता पनि प्रयोग गर्ने गरेका छन कि जसको अर्थनै लाग्दैन । द्धन्द्धको समयमा शान्ति, मिलेसिया, कमाण्डार र द्धन्द्ध पश्चात लोकतन्त्र, वार्ता लगाएतका शब्दहरु हरेक व्यक्तिको ओठमै झुण्डिएका थिए । अहिले त्यस्तै भएको छ ‘झोले’ । अधिकाँश स्थानीय तहले करार कर्मचारीको नियुक्ति नविकरण नगरेपछि तिनै करार कर्मचारीलाई अहिले ‘झोले’ कर्मचारी भन्न थालिएको छ ।
‘झोले’ शब्दको लोकप्रियता बढ्दै गएपछि यसको शाब्दिक अर्थ खोज्ने प्रयास गरियो । ‘झोले’ भनेको के हो । ‘झोले’ को लाई भनिन्छ । झोला बोक्नेलाई ‘झोले’ भन्ने हो भने सबै भन्दा बढी त झोला विकासे कार्यकर्ताले बोक्ने गर्छन् । विकासे कार्यकर्ताकै रुपमा मैले पनि झोला बोक्न लागेकै एक दशक भन्दा बढी भयो । तर, कसैले पनि मलाई झोले कर्मचारी भन्ने आँट गर्न सकेको छैन् । राति आराम गर्ने समय बाहेक म सँग झोला कहिल्यै खाली भएन् । आज भोली त बानी बसिसक्यो साथीभाईसँग भेटघाट गर्न जाँदा पनि झोला अनिवार्य चाहिने । अझै उन्नत जातका विकासे कार्यकर्ताले बोक्ने झोलाको त कुरै छोडौ । उनीहरुको झोला पनि उन्नतै हुन्छ । सँगै साइड पकेटमा पानीका बोतल। झोला भित्र फास्टफुड र सुरक्षाका अन्य सामाग्रीहरु । हेर्दा विकासे कार्यकर्ता भन्दा पनि टुरिष्ट जस्ता देखिने ति मान्छेलाई झन ‘झोले’ भन्ने कुरै आएन् ।
कसलाई भन्दा रहेछन् ‘झोले’ मेरो खुल्दुली अझै मेटिएन् । नेपाली शब्द कोष पल्टाएर ‘झोले’ शब्द खोज्ना थाले । नेपाली शब्दकोषका अनुसार ‘झोल’ र ‘ए’ लाई जोडेर झोल भएको रसदार भन्ने अर्थ बुझिदो रहेछ । रसदार भनेपछि मलाई अझै कौतुहलता जागेर आयो । तल्लो तहमा बसेर सेवाग्राहीको काममा खटिएका कर्मचारी जसमा के त्यस्तो रसदार हुन्छ अनि झोले भनेका होलान् । सत्ता र शक्तिको नजिक भएकाले केही न केही रसदार त हुन्छ होला नै । त्यहि भएर पनि होला त्यस्तै मानिसहरुको केही जमात यस्ता झोलेहरुको पछाडी हुन पनि सक्छ ।
वास्तवमा ‘झोले’ भनेको के हो भनेर बुझ्दै जाँदा झोलेहरुलाई मैले तीन वटा समूहमा वर्गिकरण गरे । पहिलो तहको ‘झोले’ जसले नेताको मलद्धारलाई हरिद्धारा देख्छ्, अनि विचार मिल्नेलाई भगवान र विचार नमिल्नेलाई राक्षस देख्छ । उ प्रायः नेतृत्वको वरीपरी घुमिरहन्छ । आफनो कामप्रति जिम्मेवार र जवाफदेही हुनुभन्दा नेताप्रति जिम्मेवार र जवाफदेही हुन्छ । । उ नेताको गुणगान गाईरहन्छ । उसका सपनाहरु पनि धेरै ठुला हुन्छन् । आफैले नेतृत्व गरिरहेको छु भन्ने भ्रम हुन्छ । यस्ता झोलेहरुले नेतृत्वलाई गलत सल्लाह दिन्छन् र सानो कुरालाई अतिरञ्जित गराउन माहिर हुन्छन् । यीनीहरुमा अत्यधिक अवसरवादीपन हुन्छ । ठेक्का पट्टाहरुमा सहभागी हुने, उपभोक्ता समितिमा बसेर कमिसन माग्ने । कार्यालयमा हाजिर नहुने, गफ चुटेर बस्ने अनि योजनाका फाइलहरु संकलन गर्ने, आफ्नो नेतृत्वप्रति वफादार भएर लाग्ने जस्ता आचरण पहिलो तहका झोलेहरुमा देखिन्छ ।
दोस्रो तहका झोलेहरु खासै सत्ता र शक्तिको त्यति धेरै नजिक हुँदैनन् । कहिले काहि आफ्नो नेतृत्वप्रति जयजयकार मनाए पनि आफ्नो कामप्रति पनि प्रतिवद्ध हुन्छन् । सहि र गलतलाई विश्लेषण गर्नसक्ने क्षमता यीनीहरुमा हुन्छ । शक्ति र पहुँच भन्दा कामप्रति बढी विश्वास गर्छन् । राजनीतिलाई बुझेका हुन्छन् । तर त्यति धेरै चर्काे राजनीति पनि गर्दैनन । यस्ता झोलेहरु नेता भन्दा बढि झण्डाप्रति विश्वास राख्छन् । पार्टिका दस्तावेजहरु अध्ययन गर्छन् । सहि र गलत छुट्याउन जानेका हुन्छन् । यस्ता झोलेहरुले आफ्नो नेतृत्वलाई रचनात्मक सुझाव दिन्छन् र यिनीहरुसँग सकारात्मक आलोचना सहन सक्ने पनि क्षमता हुन्छ ।
तेस्रो तहका ‘झोले’ । यीनीहरुसँग सहि र गलत विश्लेषण गर्ने क्षमता हुदैन् । यिनीहरुका आवश्यकताहरु पनि त्यति धेरै ठुला हुँदैनन्। यो तहका झोलेहरु पार्टिका बफादार कार्यकर्ता वा गड्यौलाहरु हुन जसले राजनीतिको धरातलमा बसेर काम गर्छन । निर्वाचनमा भोट हाल्छन् । कहिले काहि रक्सि मासु मात्रै भएपनि चित्त बुझाउनु पर्ने बाध्यता हुन्छ । यस्ता झोलेहरु स्थायी स्वभावका हुदैनन् ।मौका मिले जसको झोला पनि बोक्न तयार हुन्छन् । दैनिक जिवन निर्वाहका लागि तयार हुने झोलेहरुको संख्या करिब २० प्रतिशत जति होला । राज्य सहि ढंगले सञ्चालन गरी जनताको जिवनस्तरमा सुधार गर्ने हो भने यस्ता झोलेहरुको संख्या घटाउन सकिन्छ ।
झोलेहरुको पनि लामै श्रृङखला छ । अमर न्यौपानेले करोडौ कस्तुरीमा हेप्ने र हेपिनेहरुको श्रृङखला लेखेका छन् । यहाँ झोलेहरुकोे श्रृङखलालाई पनि त्यहि हेप्ने र हेपिनेहरुको श्रृङखलासँग तुलना गर्न सकिन्छ । कर्मचारी संयन्त्र भित्र हेर्दा हाकिमले सुब्बालाई, सुब्बाले खरदारलाई, खरदारले पिएनलाई र पिएनले आफ्नै श्रीमतीलाई झोला बोकाउने चलन छ । पिएनकी श्रीमती वाठी भए उल्टै हाकिमलाई नै झोला बोकाइदिन्छे । हाकिमलाई उपसचिवले, उपसचिवलाई सहसचिव, सहसचिवलाई सचिवले, सचिवलाई मुख्य सचिवले, मुख्य सचिवलाई मन्त्रीले, मन्त्रीलाई प्रधानमन्त्रीले झोला बोकाउने प्रचलन आजको होइन् । नेपालको रानीतिक संस्कार यो परम्पराकालदेखि चल्दै आएको छ । जो सत्ता शक्ति र पहुँचमा हुन्छ उसले पनि कसै न कसैको झोला बोकेरै आएको हुन्छ । प्रश्न यहाँ छ उ कुन तहको ‘झोले’ हो ? फरक यती छ, माथिल्लो तहका ‘झोलेको’ सपना र योजनाहरु ठुला हुन्छन् । तल्लो तहको ‘झोलेका’ सपना र योजनाहरु दैनिक जिवन निर्वाहसँग जोडिएका हुन्छन ।
नीति र विधि नभएको देशमा झोलेहरुको उदय
मलाई फेरी प्रश्न गर्न मन लाग्यो मान्छे किन अरुको झोला बोक्न तयार हुन्छ ? झोला बोक्ने शैली फरक–फरक होलान् । तिनै झोलेहरुको नेतृत्वप्रति आत्म समर्पण, कडा आलोचना, अति चाकडी र चाप्लुसी देख्दा दया जागेर आउँछ । के उनीहरुमा आत्मविश्वास छैन् । कडा परिश्रमले सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास जाग्दैन । तर, नीति र विधिबाट राज्य सञ्चालन नभएका मुलुकमा यस्ता झोलेहरुको उदय हुनुलाई स्वभाविक मान्न सकिन्छ ।
जागिर खादा पनि पहुँच हुनुपर्ने । नेता हुनालाई पनि पहुँच चाहिने । राजनीतिक दल भित्रै पनि नेता तथा कार्यकर्ताको उचित मुल्यांकन नहुने । सार्वजनिक विकास निर्माणका काम गर्न पनि नेता चाहिने । चाहे त्यो कोभिडबाट प्रभावितहरुलाई राहत दिन होस वा सडक, बत्ति, पुल निर्माण गर्न नै किन नहोस सबै शक्ति र पहुँचका भरमा काम हुने भएकाले झोलेहरुको उदय भएको हो । हामी सबै जिम्मेवार र गम्भिर हुन आवश्यक छ, एउटा झोलेको उदय र अर्काे झोलेको पतन हुने वातावरण कहिल्यै नबनोस् । सबै प्रकारका झोलेहरुलाई निरुत्साहित गर्नुपर्छ । मिहिनेत र परिश्रमबाट स्थापित हुन सकिन्छ भन्ने मान्यतालाई विकास गर्नुपर्छ । सत्ता झोलेहरुबाट होइन् बुद्धि र विवेकले सञ्चालन गर्ने हो । सबै प्रकारका झोले युवाहरुलाई सलाम तपाईसँग अथाह शक्ति छ परिश्रम गरेर आत्मनिर्भर हुने कठिन बाटो खोजी गर्नुहोस । अन्तत्वगत्वा तपाईलाई कसैले ‘झोले’ भनेर हेप्ने शाहस गर्ने छैन् । आत्मसम्मानपूर्वक बाँच्न सिकाउने छ ।
अधिकारीले समसामयीक विषयमा विगत लामो समयदेखि स्वतन्त्र कलम चलाउदै आएका छन् ।
प्रतिक्रिया